भाइरल ज्वरोका कारण उमाकुण्डका ४२ विद्यालय तीन दिनका लागि बन्द

शुक्रबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण

अकस्मात् फैलिएको भाइरल ज्वरोका कारण विद्यार्थी बिरामी पर्दै गएपछि उमाकुण्ड गाउँपालिकामा रहेका ४२ वटा सामुदायिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । विद्यालयमा अध्ययनरत अधिकांश बालबालिकामा ज्वरो आएपछि आजदेखि लागू हुने गरी मंसिर १ गतेसम्मका लागि गाउँपालिकाभित्र रहेका सम्पूर्ण विद्यालय पूर्ण रूपमा बन्द गर्ने निर्णय पालिकाले गरेको हो । 

केही दिनदेखि निरन्तर उमाकुण्डका विभिन्न स्थानहरूमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, जिउ दुख्ने, रुघाँखोकी लाग्नेजस्ता संक्रमण तीव्र रूपमा फैलिएको छ । अहिले ज्वरोका कारण बिरामी परेका स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि खचाखच रूपमा भरिएका छन् । विद्यालयमा एकाएक रूपमा ज्वरोका बिरामी बढ्दै गएपछि विद्यालयको निरीक्षण लागि बिहीबार पालिकाका केही विद्यालयमा पुगेका गाउँपालिकाका अधिकारीहरूले बालबालिका पनि उक्त संक्रमण देखेपछि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । संक्रमण बढ्दै गएर गाउँभरि फैलन थालेपछि संक्रमण रोक्नका लागि विद्यालय बन्द गर्ने निर्णयमा आफूहरू पुगेको उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुभजित सुनुवारले जानकारी दिए । 

उनले भने, ‘अहिले गाउँपालिका र स्वास्थ्य संस्थाहरूले स्वास्थ्य सावधानी अपनाउनेबारे सूचना जारी गरेका छौँ ।’ सोमबार र मंगलबार तीव्र रूपमा देखा परेको संक्रमण अहिले केही घट्दो अवस्थामा पुगेको सुनुवारले बताए । उमाकुण्ड गाउँपालिका र स्वास्थ्य शाखाले संयुक्त रूपमा स्थानीय नागरिकहरूलाई ज्वरो आएमा यसबाट बच्ने उपाय र ज्वरो आउने संक्रमणका लक्षणहरूको विषयमा सार्वजनिक सूचना जारी गरी जानकारी गराउने काम भइरहेको र सावधानी अपनाउँदा पनि ज्वरो आएमा उपचारका लागि स्वास्थ्य संस्थामा आउन पनि गाउँपालिकाले नागरिकहरूलाई आग्रह गरेको छ । 

सुझावित समाचार