६ वर्षमा पनि बनेन हुलाकी राजमार्गको विराटनगर–कटहरी सात किमि खण्ड

पूर्वराज्यमन्त्री कान्छारामले पाएको ठेक्का नै अलपत्र

शुक्रबार, २९ कार्तिक, २०८२
डिजिटल संस्करण
  • पटक–पटक आन्दोलन गरेर सहमति गर्दा पनि भएन ठेक्का रद्द, ठेकेदार कम्पनी श्रेष्ठ कन्स्ट्रक्सन सम्पर्कविहीन 

हुलाकी राजमार्गअन्तर्गत विराटनगरको हाटखोलादेखि पूर्वकटहरीको नयाँबजारसम्मको करिब सात किमि सडक ६ वर्षसम्म पनि बन्न सकेको छैन । २४ कात्तिक ०७६ देखि निर्माण सुरु भएको हुलाकी सडकअन्तर्गतको सो खण्ड ३० प्रतिशत मात्र निर्माण भएको छ । 

हुलाकी सडकको विराटनगर–कटहरी खण्डको सात किमि सडक निर्माण गर्न श्रेष्ठ कन्स्ट्रक्सन हेटौँडाले जिम्मा लिएको छ । तर, ६ वर्षमा ३० प्रतिशत मात्रै काम सम्पन्न गरेको श्रेष्ठ कम्पनीले दुईपटक म्याद थप गरिसकेको छ । जिल्लाका सबै दलका नेताहरू यही सडक बनाउन अझै संघर्षरत छन् । मोरङ प्रशासनले पाँचजना सिडिओ भोगेर आन्दोलनरत पक्षसँग समयमै उक्त सडकखण्ड निर्माण पूरा गराउन सहमति गरे पनि सफल हुन सकेको छैन । हुलाकी सडक आयोजनाले ठेक्का रद्द गर्ने सूचना पटक–पटक निकाल्दा पनि ठेकेदारले बेवास्ता गरेको छ । 

मोरङका पूर्वसिडिओ इन्द्रदेव यादवले सबै ठुला राजनीतिक दल र स्थानीय अगुवाका साथै हुलाकी सडक आयोजनाका प्रतिनिधिलाई राखेर १२ साउनमा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर ठेक्का प्रक्रिया रद्द गर्न संघीय सरकारलाई परिपत्र गरेका थिए । त्यसको सुनवाइ नभएपछि तत्कालीन सांसद अमनलाल मोदीले प्रतिनिधिसभामा र सांसद भीम पराजुलीले कोशी प्रदेश सभामा हुलाकी सडकको सात किमि खण्ड निर्माण पूरा नभए आमरण अनशन बस्ने चेतावनी दिएका थिए । त्यसपछि भौतिक मन्त्रालयले काठमाडौंमै छलफल गरेर ठेकेदार कम्पनी श्रेष्ठ कन्स्ट्रक्सनलाई हुलाकी सडकको निर्माण पूरा नगरे ठेक्का रद्द गर्ने चेतावनी दिएको थियो । 

मन्त्रालयमा प्रतिबद्धता जनाए पनि अहिले ठेकेदार नै सम्पर्कविहीन छन् । सोही कारण स्थानीयहरू २० कात्तिकदेखि फेरि सडक नै अवरुद्ध गरेर आन्दोलन गरेका छन् । स्थानीयको दबाबपछि मोरङका सिडिओ युवराज कट्टेलले फेरि श्रेष्ठ कन्स्ट्रक्सनलाई कालोसूचीमा राखेर ठेक्का रद्द गराउने सर्वपक्षीय सहमतिसहित संघीय सरकारलाई परिपत्र गरेका छन् । 

‘संघीय सरकारले तत्कालै ठेक्का रद्द गरेर छिटो तरिकाले अर्को ठेक्का व्यवस्थापन नगर्दासम्म अलपत्र सडक निर्माण हुन्छ भन्ने अब कुनै विश्वास नै छैन, भालुको कन्पट नै भयो हाम्रा लागि हुलाकी सडक’ कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले भने । 

कटहरीका स्थानीय अगुवा तथा मृत्युञ्जय झाले संघीय सरकारको अलपत्र सडक निर्माण नगर्ने ठेकेदार कम्पनीलाई कारबाही नगर्दा स्थानीयले मात्र नभएर हुलाकी राजमार्गमा यात्रा गर्ने सबैले वर्षौँदेखि सास्ती पाइरहेको बताए । २१ कात्तिकमा सिडिओ कट्टेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दोस्रोपटक फेरि रतुवादेखि केसलियाअन्तर्गतको ठेक्का रद्द गर्ने प्रक्रिया थाल्ने निर्णय गरेको छ । यो निर्णयसँगै शुक्रबारदेखि ठेक्का रद्द गर्ने निर्णय भएको दूरीभित्र हुलाकी सडक निर्देशनालय इटहरीले खाल्डा पुर्ने तथा दैनिक पानी हाल्ने निर्णयसमेत भएको छ । 

हुलाकी सडकको सहज उपयोग भएन 
हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका अनुसार मोरङमा हुलाकी सडकको ४२ किलोमिटर क्षेत्र पर्छ । जिल्लामा सात प्याकेजमा हुलाकी सडक निर्माण गर्ने ठेक्का सम्झौता भएर काम अगाडि बढाइएको थियो । जसमध्ये २६ किलोमिटर कालोपत्रे भइसकेको छ । तर, ठेकेदार कम्पनीको लापरबाहीले कटहरीको नयाँबजारदेखि विराटनगरको हाटखोलासम्मको करिब सात किमि सडक भने अलपत्र छ । 

सो खण्ड निर्माण पूरा भए विराटनगरदेखि सोझै झापाको झिलझिलेसम्म सहज यात्रा गर्न सकिने मोरङ उद्योग व्यपार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडा बताउँछन् । उनका अनुसार हुलाकी सडकको विराटनगर–कटहरी खण्डको करिडोरमा दुई दर्जनभन्दा बढी ठुला उद्योग छन् । अधुरो सडकले उद्योगीले पनि वर्षौँदेखि मालसामान ढुवानी गर्न सास्ती पाउँदै आएको उनले बताए । हुलाकी राजमार्ग योजना कार्यालय इटहरीअन्तर्गत कोशी प्रदेशको पूर्वी सिमाना झापा भद्रपुरको मेची पुलदेखि मधेश प्रदेशको सिराहा र सप्तरी जिल्लाको बलान खोलासम्म हुलाकी राजमार्ग निर्माण भइरहेको छ । 

पूर्वराज्यमन्त्री कान्छारामले पाएको ठेक्का नै अलपत्र
बर्दियाको राजापुर र गेरुवा गाउँपालिका जोड्ने २७ किलोमिटर सडक अलपत्र परेको छ । उक्त ठेक्का पूर्वऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) र नेपाली कांग्रेस डडेलधुराका पार्टी सभापति भीम साउदले पाएका हुन् । 

कान्छाराम, राजेन्द्र जेभीको लापरबाहीले गेरुवा गाउँपालिकाको सबैभन्दा लामो र महत्वपूर्ण सडक अलपत्र परेको हो । गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले ठेकेदारले ढिलासुस्ती गर्दा स्थानीयले समस्या भोग्नुपरेको बताए । ‘यो पालिकाको सबैभन्दा ठुलो र महत्वपूर्ण सडक हो । यो सडक गेरुवाको पर्यटकीय क्षेत्र इन्टेकसँग जोडिन्छ । तर, निर्माण कम्पनीले समयमा काम नगर्दा समस्या भएको छ,’ उनले भने, ‘सडक निर्माणको काम समयमा सम्पन्न गराउन दुईपटक कार्यपालिकाको बैठकबाट निर्णय गरी हुलाकी सडकको कार्यालय र मन्त्रालयसम्म पत्राचार गरेका छौँ । तर, अहिलेसम्म सडक निर्माणको काम हुन सकेको छैन ।’

उक्त सडक निर्माणका लागि ४ चैत ०७७ मा निर्माण कम्पनीले ५३ करोड १२ लाख ६१ हजारमा सम्झौता गरेको हुलाकी राजमार्ग योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले बताए । ३० महिनामा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि काम नभएपछि २३ महिना म्याद थप गरिएको उनको भनाइ छ । उनले भने, ‘तोकिएको समयमा निर्माण कम्पनीले काम गर्न नसकेपछि १ वैशाख ०८१ मा २३ महिनाका लागि म्याद थप भएको छ । निर्माण कम्पनीले ०८२ चैत २८ गते सडक निर्माणको काम सक्नुपर्छ ।’ पछिल्लो ५५ महिनामा ठेकेदारले गरेको कामको प्रगति हेर्दा तोकिएको मितिमा निर्माण सम्पन्न हुने देखिँदैन । निर्माण गरेको कामको प्रगति हेर्दा करिब ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका प्रमुख भण्डारीले जानकारी दिए । उनले भने, ‘सडक निर्माणको कामलाई छिटो सम्पन्न गराउन निर्माण कम्पनीलाई पटक–पटक मौखिक र ३१ पटक पत्राचारसमेत गरेको छ ।’ 

कार्यालयले यसरी पटक–पटक मौखिक र लिखित रूपमा काम गर्न आग्रह गर्दासमेत निर्माण कम्पनीले अटेरी गरेको छ । सडक निर्माण गर्न राजापुर– १०, मंगलपुरमा क्रसर उद्योग पनि सञ्चालनमा रहेको योजनाको कार्यालयले जनाएको छ । 

सुझावित समाचार