यल्लो फिभर नामको भ्याक्सिन नलिएका कारण अर्जेन्टिनाका जुलियन आल्भारेज, नाहुएल मालिना र जियोलियानो सिमियोनाले एंगोलाविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । अर्जेन्टिनाले यस वर्षको अन्तिम मैत्रीपूर्ण खेल अफ्रिकी महादेशमा १४ नोभेम्बरमा खेल्दै छ । विश्व स्वास्थ्य संस्थाले अफ्रिकी महादेशमा जानुअघि यल्लो फिभर नामको खोप लिनुपर्ने अनिवार्य गरेको छ । तर, अर्जेन्टिनाका तीन खेलाडीले भने खोप लिएका छैनन् ।
अर्जेन्टिनी फुटबल महासंघले खोप नलिएका खेलाडीलाई मैत्रीपूर्ण खेलबाट बाहिर राखेको जनाएको हो । गत साता महासंघले खेलाडीको नाम घोषणा गर्दा आल्भारेज, मालिना र सिमियोनाले स्थान पक्का गरेका थिए । ‘यल्लो फिभरको खोप नलिएका कारण उनीहरूलाई टोलीबाट हटाइएको हो,’ महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । एंगोला प्रस्थान गर्नुअघि तीनजना प्रमुख खेलाडी बाहिरिएपछि महासंघले अन्तिम समयमै खेलाडी फेरबदल गरेको छ । अर्जेन्टिनाका मुख्य प्रशिक्षक स्कोलानीले खेलाडीलाई जानकारी हुँदा पनि हेलचेक्य्राइँ गरेको बताए । ‘हामी विश्वकपको तयारीमा छौँ । जिम्मेवार खेलाडीले भ्याक्सिन लिनुपर्ने थाहा छ । तर, उनीहरूले लिएनन्,’ स्कोलानीले भने, ‘मैत्रीपूर्ण खेलसँगै विश्वकपको तयारीमा केही असर नगरे पनि टोलीको संरचना बिग्रन सक्छ ।’
भरपर्दा खेलाडी चोटग्रस्त
मुख्य प्रशिक्षक स्कोलानीले एंगोलाविरुद्धको प्रतिस्पर्धामा नियमित खेलाडीलाई मैदानमा उतार्न सक्ने अवस्था छैन । चेल्सीका मिडफिल्डर एन्जो फर्नान्डेज पनि घुँडाको चोटका कारण टोलीबाट बाहिरिएका छन् । यसैगरी, मार्कोस अकुना पनि पहेंलो कार्डका कारण टोलीबाट बाहिर छन् । फर्नान्डेजको स्थानमा केभिन म्याक एलिस्टरले स्थान लिनेछन् । एलिस्टरले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । बेल्जियमको युनियन सेन्टमा व्यावसायिक फुटबल खेलिरहेका डिफेन्सिभ मिडफिल्डर एलिस्टरले पहिलोपटक राष्ट्रिय जर्सीमा देखिन पाउँदा आश्चर्य व्यक्त गरेका छन् । ‘एकैपटक राष्ट्रिय टोलीमा समावेश भएको फोन आयो,’ एलिस्टरले भने, ‘अर्जेन्टिनाको जर्सीमा प्रतिस्पर्धा गर्नु सपना हो । यस किसिमले मेरो नाम समावेश हुन्छ भन्ने कल्पना थिएन ।’ स्कोलानीले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका डिफेन्डर लिसान्द्रो मार्टिनेजलाई टोलीमा समावेश गरेका छन् ।
विश्वकपको तयारी
अर्को वर्ष अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा विश्वकप आयोजना गर्दै छन् । अर्जेन्टिना विश्वकपको साविक विजेता हो । अर्जेन्टिनाले उपाधि रक्षा गर्ने हेतु नियमित प्रशिक्षण तथा मैत्रीपूर्ण खेलमा खेलाडीलाई प्राथमिकतामा राखेको छ । यसपटक अर्जेन्टिनाले दोस्रो विकल्पमा अफ्रिकी राष्ट्र छनोट गरेको हो । अहिले अर्जेन्टिनाले स्पेनमा प्रशिक्षण गरिरहेको छ । प्रशिक्षक स्कोलानीले मैत्रीपूर्ण खेल महŒवपूर्ण हुने जनाए ।