सुकेधारामा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित चेकजाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने ६ जना चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले पठाओ मोटरसाइकल चालक झापा अर्जुनधारा नगरपालिका–६ का ३९ वर्षीय शेखरनाथ घिमिरे, बाराको पचरौता नगरपालिका–६ का ३३ वर्षीय साजिद अन्सारी, नुवाकोटको बेलकोटगढी नगरपालिकाका २२ वर्षीय सुमन परियार, काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–३ का ४७ वर्षीय सुरजकुमार बजगाई, भाडाको बस चालक मकवानपुर थाहा नगरपालिका–४ का ३२ वर्षीय कपिल थापा र बोलेरो जिप चालक सल्यानका २२ वर्षीय भिमबहादुर खड्का रहेका छन् ।
उनीहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
यात्रु बोक्ने जस्तो संबेदनशील सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु नियम विपरित तथा दण्डनीय कार्य भएकोले सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुनाले आफु सवार सवारी साधनका चालकमाथि शंका लागेका प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।