सल्यानका १६ सयभन्दा बढी भूकम्पपीडितले अझै पाएनन् राहतको पहिलो किस्ता

मंगलबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

जाजरकोटलाई केन्द्रविन्दु भएर भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि सल्यानका भूकम्पपीडितले राहतको पहिलो किस्ता रकम पाएका छैनन्। अस्थायी आवास निर्माणका लागि संघीय सरकारले उपलब्ध गराउने पहिलो किस्ताबापतको रकम भूकम्पपीडितले दुई वर्ष बितिसक्दासमेत पाउनबाट वञ्चित भएका हुन्।

जिल्लाका चार हजार ३६४ लाभग्राहीमध्ये दार्मा गाउँपालिकाका एक हजार ६९२ जनाले पहिलो किस्ताको रकम पाएका छैनन्। जिल्लाको दार्मा गाउँपालिकामा चार हजार ७४ घरधुरी लाभग्राही पहिचान भई विपत् पोर्टलमा इन्ट्री भइसकेको गाउँपालिकाले जनाएको छ। तीमध्ये हालसम्म दुई हजार ३८२ जनाले मात्र पहिलो किस्ताको रकम पाएका छन् भने एक हजार ६९२ जनाले अझै रकम पाउन बाँकी रहेको गाउँपालिकाले जनाएको छ। दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीका अनुसार पहिलो किस्ता पाउन बाँकी लाभग्राही तथा दोस्रो किस्ताको भुक्तानी पर्खिरहेका सबै चार हजार ७४ घरपरिवारका लागि करिब १४ करोड २३ लाख रुपैयाँ आवश्यक छ।

०८० कात्तिक १७ गते राति गएको भूकम्पले सबैभन्दा बढी दार्मा गाउँपालिकामा क्षति गरेको थियो। बागचौर नगरपालिकामा १५४, कुमाख गाउँपालिकामा १२४ र त्रिवेणी गाउँपालिकामा १२ घरमा क्षति गरेको थियो। भूकम्प गएको दुई वर्ष बितिसक्दासमेत कुनै निकायले एक रुपैयाँको पनि सहयोग नगरेको दार्मा गाउँपालिकाका भूकम्पपीडित हर्कु खत्रीले बताए।

जिल्ला विपत् व्यवस्थापन समिति सल्यानले भूकम्पले क्षति गरेका अन्य पालिकामा कम लाभग्राही भएका कारण पहिलो किस्ताबापतको रकम वितरण गरेको र दार्मामा रकम अपुग भएकोे जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले पहिलो र दोस्रो किस्ता पाउन बाँकी रहेका लाभग्राहीका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागमा पत्राचार गरेको बताए।

अहिले पनि दार्माका धेरै पीडित अस्थायी टहरा वा क्षतिग्रस्त घरमै बस्न बाध्य छन्। वर्षा, गर्मी र चिसो समयमा उनीहरू विभिन्न स्वास्थ्य समस्याले ग्रस्त भएका छन्। राहत र पुनर्निर्माण कार्यमा भइरहेको ढिलाइका कारण पीडित थप जोखिममा परेका छन्।
 

सुझावित समाचार