जेन–जी आन्दोलनले देशभर नयाँ राजनीतिक चेतना जगाएको वेला मकवानपुरका युवाहरू अब आन्दोलनबाट मतपेटिकातर्फ उन्मुख भएका छन्। आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा जिल्लामा सोमबारसम्म तीन हजार ६ सयभन्दा बढी नयाँ मतदाता थपिएका छन्।
९ असोजदेखि सुरु भएको मतदाता नामावली संकलन अभियानमा युवाको सहभागिता अत्यन्तै उत्साहजनक रहेको बागमती प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार सोमबारसम्म तीन हजार ६७२ जना नयाँ मतदाता दर्ता भइसकेका छन्। जसमा, एक हजार ४४१ जना महिला मतदाता र दुई हजार २३१ जना पुरुष मतदाता थपिएका छन् । यस्तै, २३५ जनाले आफ्नो मतदाता ठेगाना स्थानान्तरण गरेका छन्।
मकवानपुरका दसवटै स्थानीय तहका नागरिक उत्साहपूर्वक नामावली दर्ताका लागि निर्वाचन कार्यलयमा आइरहेका छन्। यसपटक भने पछिल्लो पुस्ताको सहभागिता विशेष रूपमा उल्लेखनीय छ। अधिकांश नयाँ मतदाता २५ वर्षभन्दा मुनिका युवा छन्। निर्वाचन कार्यलयका अनुसार गत कात्तिक १६ सम्ममा मकवानपुरमा तीन लाख दुई हजार २४३ मतदाता दर्ता थिए, जबकि ०७९ को निर्वाचनमा तीन लाख ७३३ जनाले मतदान गरेका थिए । आयोगका अनुसार आगामी निर्वाचनमा फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने नागरिकलाई मात्रै मतदान गर्ने अनुमति हुनेछ।
निर्वाचन अधिकारी ढकालले मकवानपुरमा भइरहेको सहभागिता सन्तोषजनक रहेको उल्लेख गर्दै मतदाता नामावली संकलन निरन्तर प्रक्रिया भए पनि यसपटक नयाँ पुस्ताको सक्रियता बढी देखिएको छ । उनले अन्तिम मतदाता नामावली पुस १५ गते प्रकाशित गरिने जानकारी दिँदै, कात्तिक ३० गतेसम्म नामावली दर्ता खुला रहने बताए । गत भदौमा भएको जेन–जी आन्दोलनपछि युवाहरूमा मताधिकारप्रतिको चेतना तीव्र रूपमा बढेको देखिन्छ । आन्दोलनका क्रममा सडकमा उत्रेका धेरै युवा अहिले निर्वाचनमा मतदाताको रूपमा सहभागिता जनाइरहेका छन् ।
हेटौँडा– १७ की ४५ वर्षीया सितु श्रेष्ठ यसअघिका कुनै पनि निर्वाचनमा सहभागी भएकी थिइनन्। तर, उनले यसपालि पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएकी छिन् । ‘जेन–जी आन्दोलनले मेरो सोच बदलियो । अब म मताधिकार प्रयोग गरेर योग्य प्रतिनिधि छान्नेछु,’ उनले भनिन् । यस्तै, मकवानपुरगढी गाउँपालिका– ३ का २० वर्षीय विश्वास लम्सालले हेटौँडामा फोटो खिचाउने लाइनमा उभिँदै भने, ‘हामी पुरानै दलका उम्मेदवारलाई ‘नो भोट’ दिनेछौँ। यदि नयाँ पुस्ताको माग सम्बोधन गर्ने दल उठ्छ भने हाम्रो समर्थन त्यहीं हुनेछ ।’
हेटौँडा– ६ का १९ वर्षीय विमोचन पहाडीले पहिलोपटक मतदाता नामावली दर्ता गर्दा आफू जिम्मेवार नागरिक भएको महसुस गरेको बताए । उनले भने, ‘हामीले सडकमा आवाज उठायौँ, अब त्यो आवाज मतपेटिकाबाट सुनाउनेछौँ।’ उनका अनुसार देशमा राजनीतिक परिवर्तन भए पनि प्रशासनिक सुधार हुन नसकेको कारण जनताले परिवर्तनको अनुभूति गर्न सकेका छैनन् । अब नीति निर्माणमा नयाँ पुस्ताको आवाज समेटिनुपर्ने उनको माग छ । यस्तै, भीमफेदी– ९ की २३ वर्षीया इतिमाया लामा मतदाता नाम सच्याउन निर्वाचन कार्यालय आएकी थिइन्। उनले भनिन्, ‘पहिले राजनीतिबारे खासै बुझ्दिनथेँ। अब हामी डराएर होइन, बुझेरै मतदान गर्छाैँ। अब राम्रो, इमानदार र देशप्रेमी उम्मेदवारलाई मत दिनेछु ।’
अनलाइन प्रणालीले सहज, युवाहरूको स्वस्फूर्त सहभागिता
बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडामा अहिले मतदाता नामावली दर्ताका लागि दैनिक सयौँ युवाको भिड लाग्छ । अनलाइन प्रणालीका कारण दर्ता प्रक्रिया सहज बनेको छ । निर्वाचन अधिकारी ढकालका अनुसार सेवाग्राही बिहान आठ बजेदेखि साँझ ६ बजेसम्म व्यवस्थित रूपमा सेवा लिन आइरहेका छन् । सोमबार मात्रै ५७९ जनाले नाम दर्ता गराएको ढकालले जानकारी दिए ।
‘पहिले दलहरूले जम्मा गरेर मतदाता ल्याउने गर्थे, अहिले युवाहरू स्वप्रेरित भएर आएका छन्। अनलाइन प्रणालीले प्रक्रिया झन् सहज बनाएको छ,’ उनले भने।
देशैभर मतदाता नामावली दर्ता प्रक्रिया चलिरहेकाले कहिलेकाहीँ सर्भरमा केही समस्या देखिए पनि कामै गर्न भने अप्ठ्यारो नभएको ढकालले बताए । उनका अनुसार दिनमा जम्माजम्मी त्यस्तै ५–१० मिनेटजति समस्या हुने गरेको छ। ‘धेरै ठाउँमा नामावली दर्ता प्रक्रियामा सर्भरमा समस्या भयो भन्ने सुनेका छौँ, तर मकवानपुरमा त्यस्तो खासै छैन,’ उनले भने, ‘कुनै–कुनै वेला ५–१० मिनेट रोकिए पनि पुनः नियमित हुने गरेको छ ।’