कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको छ । रंगशालामा जडान हुने ६ वटा फ्लडलाइटका टावर उठाइसकेको र त्यसमा बत्ती जडान कार्य सुरु भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानले फ्लडलाइट तयार भए आसन्न दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) पनि डे–नाइटमै खेलाउने योजना बनाएको छ । प्रत्येक टावरमा १६ सय वाटका ७० वटा बत्ती जडान हुनेछ । प्राविधिक पक्षले बिहीबारसम्म दुईवटा टावरमा पूरै लाइट जडान गरिसकेको छ । क्यानका अनुसार ६ वटा टावर ६ लाख ७२ हजार वाट क्षमताको हुनेछ ।
प्राविधिक पक्षले प्रत्येक दिन कम्तीमा दुईवटा टावरमा १६ सय वाटको ७० वटा बत्ती जडान गर्ने लक्ष्य राखेको छ । फ्लडलाइट जडानका आयोजना प्रमुख चक्रवर्ती कण्ठलले छिट्टै जडानको काम सकिने बताएका छन् । त्रिवि मैदानमा जडान हुने लाइट बाहिरबाट आउने भएकाले निर्धारित समयभन्दा केही दिन ढिला भएको उनको भनाइ छ । ‘फ्लडलाइटका जडान हुने सबै बत्ती बाहिरबाट ल्याउनुपर्छ । जसका कारण केही समय ढिला भएको हो,’ चक्रवर्तीले भने, ‘ती बत्ती समयमै आएको भए ६ वटै टावरमा फुलफेजमै बत्ती जडान गरिसक्थ्यौँ ।’
क्यानले आगामी १ देखि २७ मंसिरसम्म दोस्रो एनपिएल गर्दै छ । एनपिएल आउन १० दिन मात्र बाँकी छ । क्यानका प्रवक्ता छुम्बी लामाले फ्लडलाइटमै एनपिएल आयोजना गर्ने लक्ष्यका साथ आफूहरू अगाडि बढिरहेको बताएका छन् । ‘हाम्रो प्रयास भनेको फ्लडलाइटमै एनपिएल गराउने हो । यद्यपि, यो प्राविधिक पक्ष हो,’ लामाले नयाँ पत्रिकासँग भने, ‘प्राविधिक समस्या आएन भने क्यानले एनपिएल फ्लडलाइटमै गराउनेछ ।’
आयोनजा प्रमुख चक्रवर्तीले सबै टावरमा बत्ती फिट भएपछि यसको परीक्षण हुने बताए । उनले आफूहरू एनपिलअगाडि नै सबै परीक्षण गरिसक्ने र फ्लडलाइटमै प्रतियोगिता गराउने योजनाका साथ काम भइरहेको जनाए । ‘अहिले हाम्रो लक्ष्य एनपिएलअगाडि नै फ्लडलाइटको सबै परीक्षण सकाउने र तयार गर्ने हो,’ उनले भने, ‘तर, लाइटमा खेल गराउने वा नगराउने अन्तिम निर्णय क्यानको हो ।’ क्यानका प्रवक्ता लामाले फ्लडलाइट तयार भएको अवस्थामा एनपिएल राति पनि गराउन सक्ने बताए । ‘क्यान फ्लडलाइटमै एनपिएल गराउने योजनामा छ,’ उनले भने, ‘निर्माण कम्पनीले पनि तीव्र रूपमा काम गरिरहेको छ ।’
६० मिटर अग्लो टावर
रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०–३० टनका हाइमास्ट लाइट जडान गरिएको छ । पोल नम्बर १, ४, ५ र ६ मा फ्लडलाइट आंशिक रूपमा जडान भइसकेको छ । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले गत २३ असोजमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको अनुगमन गरेका थिए । एनपिएलअगाडि नै प्यारापिट र फ्लडलाइट जडान सक्ने प्रतिबद्धता आयोजना प्रमुख चक्रवर्तीले मन्त्री घिसिङलाई दिएका थिए ।
मन्त्रिपरिषद्को ३० असोजको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा रंगशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको थियो ।
भारतका पूर्वप्रशिक्षक रोबिन सिंह लुम्बिनीका मेन्टर
लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ । लुम्बिनीले १ देखि २७ मंसिरसम्म आयोजना हुने दोस्रो नेपाल प्रिमियर लिगका लागि सिंहलाई मेन्टर नियुक्त गरेको हो । ६२ वर्षीय रोबिनसँग प्रशिक्षणको लामो अनुभव छ । उनले इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्स र क्यारेबियन प्रिमियर लिगमा बारबाडोस ट्रिडेन्ट्सको प्रशिक्षण सम्हालिसकेका छन् । रोबिनले युएईको राष्ट्रिय टोलीलाई समेत प्रशिक्षण दिइसकेका छन् । उनी भारतको यू–१९ टोलीका मुख्य प्रशिक्षक बनेका थिए । सन् २००४ मा हङकङको प्रशिक्षक बनेका उनले हङकङलाई एसिया कपमा छनोट गराउन भूमिका खेलेका थिए । त्यसपछि सन् २००६ मा उनी भारत ‘ए’ टोलीका प्रशिक्षक बने । त्यसपछि सन् २००७ र २००८ मा उनले भारतीय राष्ट्रिय टोलीमा फिल्डिङ प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । सन् २००८ देखि सुरु भएको आइपिएलको पहिलो सिजनमा सिंह डेक्कन चार्जर्सको प्रशिक्षक थिए ।
खेलाडी जीवनमा रोबिन भारतीय टोलीका अलराउन्डर थिए । भारतका लागि एक टेस्ट र १३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका उनले टेस्टमा २७ रन मात्र बनाए । एकदिवसीय खेलमा उनको नाममा दुई हजारभन्दा बढी रन र ६९ विकेट छ । दुई दशक लामो प्रशिक्षण अनुभव सँगालेका रोबिनको आगमनले लुम्बिनीले एनपिएलमा गतिलो नतिजा निकाल्ने विश्वास राखेको छ ।
‘अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव र प्रतिभाले भरिपूर्ण रोबिनलाई लुम्बिनीमा ल्याउनु हाम्रो लागि मात्र होइन, समग्र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने विश्वास छ,’ लुम्बिनीका अध्यक्ष ईश्वर जिसीले भने, ‘विश्वस्तरीय खेलाडी तथा प्रशिक्षकले टोलीको नेतृत्व गर्दै हुनुहुन्छ ।’