राष्ट्रिय युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ। कात्तिक १६ गते राति फेसबुकमा लेखेको स्ट्याटसको विषयलाई लिएर युवा संघले बिहीबार ब्युरोमा उजुरी पेस गरेको हो।
सार्वजनिक पदमा बसेको व्यक्तिले सार्वजनिक शान्ति खलल गरेको, सामाजिक भाइचारासमेत बिगारेको भन्दै युवा संघका उपाध्यक्ष महाराज गुरुङले साइबर ब्युरोमा उजुरी दिएका हुन्। शाह विदेश भाग्ने र प्रमाणहरू नष्ट गर्ने भन्दै युवा संघले उनको राहदानीसमेत रोक्का गर्न माग गरेको छ।
‘नेपाली लोकतान्त्रिक आन्दोलनमा अग्रपंक्ति भूमिका खेलेका राजनीतिक पार्टीहरूलाई खुला रूपमा गाली गरी सार्वजनिक पदमा बसेको व्यक्तिले विदेशलाई पनि गाली गरी सार्वजनिक शान्ति खलल गरेको, सामाजिक भाइचारासमेत बिगारेको, साथै मित्र राष्ट्रहरूलाई समेत गाली गरी सम्बन्धमा आँच आउने कार्य गरेको’ उजुरीमा उल्लेख छ।