पछिल्लो समय नेपाली साहित्यिक आकाशमा निकै चर्चाको विषय बनेको उपन्यास ‘नीलो प्रेम’ले पाठकमाझ गाढा छाप छोड्न सफल भएको छ। प्रकाशनको ६ महिनाभित्रै ‘नीलो प्रेम’का २५ हजारभन्दा बढी प्रतिहरू बिक्री भइसकेको जानकारी प्रकाशकले दिएका छन्। यो संख्या पछिल्ला वर्षहरूमा नयाँ लेखकको पुस्तकका लागि उल्लेखनीय मानिन्छ।
लेखक पुरुषोत्तम बजगाईं नेपाली पाठकमाझ नयाँ नाम भए पनि पहिलो कृतिमार्फत नै आफ्नो लेखनशैली र संवेदनशील दृष्टिकोणले ठुलो प्रभाव पार्न सफल भएका छन्। प्रेम, मित्रता, परिवार र युवावस्थाका द्वन्द्वलाई समेटेको यो उपन्यासले युवापुस्तामा विशेष लोकप्रियता कमाएको छ।
साहित्यलाई सरल रूपमा प्रस्तुत गरी नयाँ पुस्तालाई नेपाली साहित्यतर्फ आकर्षित गराउनु आजको आवश्यकता रहेको बताउने लेखकले नयाँ पुस्ताको मन जित्न सफल हुनु उनको सफलता मान्न सकिन्छ। चैत ०८१ मा प्रकाशित यस कृति साहित्यपोस्ट नव आख्यान पुरस्कार २०८१ को छोटो सूचीमा समावेश थियो, जसले यसको साहित्यिक मूल्यलाई थप उजागर गरेको छ।
पुस्तक भारतमा छापी नेपाल भित्र्याउने चलनबिच इन्डिगो इंकले भने ‘नीलो प्रेम’ देशमै छापी बजारमा पुर्याइरहेको छ। ‘हामी नेपाली पुस्तक नेपाली माटोमै छापिनुपर्छ भन्नेमा विश्वास राख्छौँ,’ प्रकाशक विष्णुकुमार पौडेलले भने, ‘यसले देशभित्रै रोजगारी सिर्जना गर्न पनि सघाउँछ।’ नयाँ लेखकलाई प्रोत्साहन गर्नु प्रकाशकको दायित्व भएको बताउँदै उनले नयाँ लेखकको कृति पाठकले मनपराइदिनु उत्साहजनक रहेको उल्लेख गरे।
‘नीलो प्रेम’ मूलतः प्रेमकथा भए पनि यसले सामाजिक, सांस्कृतिक र आर्थिक पक्षको समेत मिहिन ढंगले उजागर गरेको समीक्षकहरू बताउँछन्। आदर्श प्रेमको पक्षमा देखिने यो उपन्यास सबै उमेर समूहका पाठकका लागि उत्तिकै उपयुक्त रहेको उनीहरूको भनाइ छ।