भन्सारभित्रैबाट तस्करी गरेको खुलेपछि विराटनगर भन्सारका एक प्रतिनिधि पक्राउ

बिहिबार, २१ कार्तिक, २०८२
डिजिटल संस्करण

जाँचपास प्रक्रिया छलेर भन्सारभित्रैबाट तस्करी गर्ने गरेको खुलेपछि विराटनगर भन्सारका एक प्रतिनिधि पक्राउ परेका छन्। भन्सार जाँचपास प्रक्रियाअन्तर्गत बोलकबाेल छलेर  परिसरबाटै तस्करी गर्ने गरेको खुलेपछि विराटनगर भन्सारका एजेन्ट कुन्दन मण्डल पक्राउ परेका हुन्।

उनले भन्सारभित्रैबाट जाँचपास प्रक्रिया छलेर  सामान तस्करी गरी ढुवानीमार्फत पठाउने गरेको राजस्व अनुसन्धानको टोलीले मंगलबार ढुवानीमा छापा मारेपछि खुलेको छ।

मंगलबार एजेन्ट प्रतिनिधि मण्डलले भन्सार जाँचपास प्रक्रिया छलेर प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा बढी कपडा हालेर तस्करी गर्ने गरेको सूचना पाएपछि  विराटनगरका भन्सार अधिकृत उमेश श्रेष्ठले एजेन्ट प्रतिनिधि मण्डललाई मंगलबार आदेश गरेर  पक्राउ गर्न लगाएका थिए । त्यसपछि भन्सारकै सूचनाका आधारमा बुधबार भन्सार प्रक्रिया छलेर तस्करी गरी  विभिन्न स्थानमा ट्रान्सपोर्ट हुँदै पठाउने गरेको सूचना पाएपछि राजस्व अनुसन्धान इटहरीको टोलीले बुधबार   विराटनगर– ६, सरौचियास्थित बुद्धपूजा ढुवानी सेवाबाट ३४ पोका कपडा   नियन्त्रणमा लिइएको छ।  

भन्सार एजेन्ट सौगात पोखरेलका प्रतिनिधि मण्डल मंगलबारदेखि इलाका प्रहरी कार्यालय रानीको हिरासतमा छन्। तस्करी प्रकरणको छानबिन गर्न भन्सार प्रमुख श्रेष्ठले अधिकृतको नेतृत्वमा छानबिन समिति बनाएका छन् । प्रतिनिधि मण्डलले जाँचपास भएको प्रज्ञापनपत्रमा भन्सार एजेन्ट सौगात पोखरेलले हस्ताक्षर गरेका छन्। राजस्व अनुसन्धानको टोलीले ढुवानी सेवाबाट  प्रज्ञापनपत्रमा उल्लेख गरेभन्दा फरक र धेरै मालवस्तु  बरामद गरेपछि भन्सारपरिसरबाटै तस्करी पहिलेदेखि गर्ने गरेको आशंका बलियो बनाएको  छ। 

विराटनगर भन्सारका प्रमुख अधिकृत उमेश श्रेष्ठले अधिकृतस्तरको छानबिन समिति बनाएको र राजस्व अनुसन्धानले पनि छानबिन गरिरहेकाले भन्सार छलीमा एजेन्ट पोखरेल र कर्मचारीहरूको मिलेमतो भए–नभएको प्रतिवेदन आएपछि मात्रै खुल्ने बताए । प्रमुख श्रेष्ठले भने, ‘प्रतिनिधिलाई नियन्त्रणमा लिएर छानबिन थालेका छौँ, एजेन्ट र कर्मचारीको मिलेमतो भए–नभएको चाँडै पत्ता लगाउँछौँ, दोषी पाइए सबैलाई कारबाही गर्नेछौँ ।’ 

भन्सार स्रोतका अनुसार एजेन्ट प्रतिनिधि मण्डलले नक्कली बिल मात्र नभएर प्रज्ञापनपत्रसमेत नक्कली बनाएर भन्सार छली गर्दैै आएका थिए। भन्सारमा कहिले मालवस्तुको मूल्यांकन कम गराएर त कहिले परिमाण कम देखाएरसमेत भन्सार छली गर्ने गरिएको छ। यता राजस्व अनुसन्धान इटहरीको टोलीले एजेन्ट प्रतिनिधि मण्डलले पठाएको कपडा फर्जीका आधारमा ढुवानी गर्ने गरेको भन्दै ढुवानीका सञ्चालक  धीरज मण्डललाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

बद्रीनारायण मण्डल र धीरज मण्डलसमेत साझेदार रहेको उक्त ढुवानी सेवाबाट कोशी प्रदेशका विभिन्न सहरहरू दुहबी, इटहरी, धरान, विराटचौक, लेटाङ, उर्लाबारी, पथरी, दमक, इनरुवा, झुम्का, भन्टाबारीसम्म मालवस्तु  ढुवानी गर्न पाउने इजाजत छ।  एजेन्ट प्रतिनिधि मण्डलले विराटनगर भन्सारमा एजेन्ट सौगात पोखरेलको क्लियरिङ नम्बर प्रयोग गरेर जाँचपास गर्दै आएका थिए।  
 

सुझावित समाचार