जेन–जी प्रदर्शन र आन्दोलनका क्रममा सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायत कार्यका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेसनल लाइफ इन्स्योरेन्सले एक करोड आर्थिक सहयोग गरेको छ ।
उक्त रकमबराबरको चेक कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र नायब महाप्रबन्धक प्रज्वल सायमीले मंगलबार अर्थमन्त्री रामेश्वर खनाललाई हस्तारन्तरण गरेका छन् ।
प्रमुख कार्यकारी अधिकृत खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षणलगायत क्षेत्रमा आर्थिक सहयोग उपलब्ध गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि यस प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
कम्पनीले यस प्रयोजनका लागि नियामक निकायबाट जारी निर्देशनअनुसार प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ ।