दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)का लागि साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले चौथो विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गरेको छ । ब्राउन बिग बास लिगका अनुभवी खेलाडी हुन् । एनपिएलका लागि सुदूरपश्चिमले स्कट कुगेलिजन, क्रिस लिन तथा हर्मित सिंहलाई विदेशी खेलाडीका रूपमा अगाडि भित्र्याएको थियो । टोलीमा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, ईशान पाण्डे, टेक रावत, नरेश साउद र दीपेन्द्र थापा छन् ।
अस्ट्रेलियन खेलाडी जोसले एनपिएलमा आबद्ध हुन पाउँदा खुसी व्यक्त गरेका छन् । ‘एनपिएल खेल्न अवसर पाउँदा धेरै खुसी लागेको छ,’ उनले सोसल मिडियामा भनेका छन्, ‘यहाँको लिगबाट म उत्साहित छु । नेपाली समर्थकलाई छिट्टै भेट्नेछु ।’ सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले जोसले बिग बासमा फरक छाप छाडेको बताए । ‘हामीले अस्ट्रेलियाको चर्चित लिग बिग बासकै उत्कृष्ट खेलाडीलाई ल्याएका छौँ र उसले नेपालमा पनि उत्कृष्ट प्रदर्शन गर्ने आशा लिएका छौँ ।’
टी–२० सिरिज ‘ए’मा एक शतक
दायाँहाते अफ ब्रेक बलिङ गर्ने जोसले टी–२० फर्म्याटमा एक शतकीय इनिङ्स खेलेका छन् । उनले ४० टी–२० खेलमा नौ सय ४५ रन बनाएका छन् । उनको स्ट्राइक १४८.८१ रहेको छ । उनले यस विधामा तीन अर्धशतक बनाएका छन् । स्ट्रोक लगाउन र आक्रामक रूपमा ब्याटिङ गर्न रुचाउने उनले टी–२० फर्म्याटमा ८१ चौका र ६५ छक्का लगाएका छन् । यसैगरी, लिस्ट ‘ए’मा जोसले पाँच खेलमा ६९ रन जोडेका छन् । जोसले टी–२० क्रिकेटमा सर्वाधिक १४० रन बनाएका छन् । टी–२० क्रिकेट यो स्कोर कमै खेलाडीले बनाएका छन् ।
एनपिएललाई एक्स स्टेपको साथ
दोस्रो एनिपिएल सिजनका लागि पोसाक साझेदारका रूपमा एक्स स्टेप नेपाल रहने भएको छ । एक्स स्टेपको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो प्रालिका प्रबन्ध निर्देशक गणेशमान श्रेष्ठ र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो सम्झौता यसै सिजनका लागि मात्र रहनेछ । रेन्बोका प्रबन्ध निर्देशक श्रेष्ठले धेरै वर्षको अन्तरालमा विभिन्न खेलमा प्रायोजन गरेको र एनपिएलमार्फत पहिलोपटक क्रिकेटमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
क्यानको आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।