दोस्रो नेपाल प्रिमियर लिग : न्युजिल्यान्डका गुप्तिल विराटनगरमा

सन् २००९ देखि ०२२ सम्म न्युजिल्यान्डको राष्ट्रिय टोलीमा रहेका मार्टिन गुप्तिलले समग्रमा २३ अन्तर्राष्ट्रिय शतक तथा ७६ अर्धशतक बनाएका छन्

सोमबार, १८ कार्तिक, २०८२
डिजिटल संस्करण

न्युजिल्यान्डका विश्वचर्चित ब्याट्सम्यान मार्टिन गुप्तिलले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटमा विराटनगर किङ्सबाट खेल्ने भएका छन् । विराटनगरले दोस्रो सिजनका लागि गुप्तिललाई निरन्तरता दिएको जनाएको छ । विराटनगरका लागि उनी चौथो विदेशी खेलाडीका रूपमा भित्रिएका हुन् । विराटनगरले गत शुक्रबार दक्षिण अफ्रिकाका आक्रामक ब्याट्सम्यान फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो । विराटनगरले यसपटक एनपिएलमा दमदार उपस्थिति जनाउन विश्वस्तरीय खेलाडी भित्र्याउने क्रमलाई निरन्तरता दिएको छ । 

उनले समग्रमा ३५१ टी–२० खेल खेलेका छन् । उनले न्युजिल्यान्डको राष्ट्रिय टोलीबाट १२२ टी–२० आईमा तीन हजार ५३१ रन जोडेका छन् । उनीसँग अन्तर्राष्ट्रिय र फ्रेन्चाइज क्रिकेटको धेरै अनुभव छ । विराटनगरले स्कटल्यान्डका अनुभवी जर्ज मन्से र अस्ट्रेलियाका साम हिजलेटलाई अनुबन्ध गरेको छ ।

गुप्तिलले इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद र पन्जाब किंग्सबाट खेलिसकेका छन् । यसैगरी उनीसँग बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तानी सुपर लिगलगायत फ्रेन्चाइज लिगको अनुभव छ । विराटनगरले दोस्रो सिजनका लागि मार्की सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ । 

गुप्तिलले पहिलो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्टविरुद्ध अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले पहिलो खेलमै ४३ बलमा ५५ रनको योगदान दिएका थिए । एनपिएलको पहिलो संस्करणमा पहिलो अर्धशतकीय इनिङ्स खेल्ने रेकर्ड उनको नाममा छ ।

विश्वकपका दोहोरो शतकधारी
एकदिवसीय विश्वकप इतिहासमा दुईपटक मात्र दोहोरो शतक बनेको छ । सन् २०१५ को विश्वकपमै यो रेकर्ड बनेको थियो । २४ फेबु्रअरी २०१५ मा वेस्ट इन्डिजका क्रिस गेलले जिम्बावेविरुद्ध २१५ रनको दोहोरो शतक लगाएका थिए । सोही विश्वकपमा न्युजिल्यान्डका बायाँहाते ब्याट्सम्यान गुप्तिलले गेलको रेकर्ड बराबरी गरे ।

उनले घरेलु मैदान वेलिंटनमा वेस्ट इन्डिजविरुद्धको खेलमा २३७ रनको दोहोरो शतकीय योगदान दिएका थिए । वेस्ट इन्डिजविरुद्धको सेमिफाइनल खेलमा उनले १६३ बलमा ११ छक्का र २४ चौका प्रहार गरेका थिए । विश्वकपमा सर्वाधिक २३७ रन बनाउने गुप्तिलको कीर्तिमान तोडिएको छैन । उनले वेस्ट इन्डिजविरुद्धको खेलमा अन्तिम ५२ बलमा १३७ रन बटुलेका थिए । एकदिवसीय इतिहासमा उनको यो शतकीय इनिङ्स दोस्रो बृहत् हो । सन् २०१४ मा भारतका रोहित शर्माले श्रीलंकाविरुद्ध २६४ रनको सर्वाधिक व्यक्तिगत बनाएका थिए । 

१५ वर्ष न्युजिल्यान्डको टोलीमा
गुप्तिलले सन् २००९ मा भारतविरुद्ध टेस्ट खेलबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । सन् २०२२ मा उनले अन्तिमपटक टोलीबाट टी–२० आई फम्र्याटमा बंगलादेशसँग प्रतिस्पर्धा गरे । लगभग १५ वर्ष न्युजिल्यान्डको टोलीबाट अन्तर्राष्ट्रिय खेल खेलेका उनले टेस्टमा तीन, एकदिवसीयमा १५ तथा टी–२० आईमा दुई शतक लगाएका छन् । यसैगरी टेस्टमा १७, एकदिवसीयमा ३९ र टी–२० आईमा न्युजिल्यान्डका लागि २२ अर्धशतकीय इनिङ्स खेलेका छन् ।

समग्रमा उनले २३ अन्तर्राष्ट्रिय शतक तथा ७६ अर्धशतकीय इनिङ्स खेले । गुप्तिलले एकदिवसीयमा सात हजार ३४६ रन, टेस्टमा दुई हजार ५८६ रन तथा टी–२० आईमा तीन हजार ५३१ रन बटुलेका छन् । उनले न्युजिल्यान्डका लागि पहिलो श्रेणीमा ३१ शतक तथा ५१ अर्धशतकको सहयोगमा १० हजार ४४४ रन जोडेका छन् । 

अमेरिकाका हर्मित सुदूरपश्चिममा 
सुदूरपश्चिम रोयल्सले अमेरिकाका बलिङ अलराउन्डर हर्मित सिंहलाई तेस्रो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ । यससँगै हर्मितले लगातार दोस्रो सिजन पनि सुदूरपश्चिमबाट खेल्ने भएका छन् । पहिलो सिजनमा उनले पाँच खेलमा आठ विकेट लिएका थिए ।

उनी पहिलो सिजनको एनपिएलमा सबैभन्दा इकोनोमीमा बलिङ गर्ने बलर बनेका थिए । ‘म नेपाल प्रिमियर लिगमा फेरि एकपटक फर्किंदै छु । गत सिजनको अधुरो कामलाई यसपटक पूरा गर्नु छ,’ हर्मितले भनेका छन् । सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हर्मितको आगमनले टोली थप बलियो बन्ने बताए । ३२ वर्षीय हर्मित बाँयाहाते बलर र बाँयाहाते ब्याट्सम्यान हुन् । उनले २५ टी–२० आईमा २४ विकेट र २३५ रन बनाएका छन् ।

अमेरिकाका लागि उनले २१ एकदिवसीय खेलमा ३१ विकेट र ३२५ रन बनाएका छन् । सन् २०१२ को यू–१९ विश्वकप विजेता भारतीय टोलीका उनी सदस्य थिए । उनले इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सका लागि समेत खेलेका छन् ।

सुझावित समाचार