कर्णाली याक्सको ट्यालेन्ट हन्ट सोमबार

आइतबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण

कर्णाली याक्स स्पोर्टस् प्रालिले सोमबार ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ। नेपाल प्रिमियर लिग (एनपिएल)को लागि कर्णाली याक्सले स्थानीय प्रतिभावान खेलाडी खोज्न लागेको हो।

ट्यालेन्ट हन्ट सोमबार बिहान ७ बजेबाट सुर्खेतको वीरेन्द्रनगरमा रहेको इन्डोर हलमा आयोजना हुने कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार अघिल्लो दिनसम्म दुई सयभन्दा बढी युवा खेलाडीले ट्यालेन्ट हन्टमा सहभागी हुन निवेदन दिएका छन्। ‘हामीले खुलाएको दर्ता फारममार्फत मात्रै दुई सयभन्दा बढी खेलाडी ट्यालेन्ट हन्टमा सहभागी हुन इच्छुक देखिनुभएको छ,’ प्रशिक्षक बस्नेतले भने, ‘फारम भर्न कोही छुट्नुभएको छ भने पनि हामी उहाँहरूलाई ट्यालेन्ट हन्टमा सहभागी गराउनेछौँ।’

यस्तै, ट्यालेन्ट हन्टपछि कर्णाली याक्सले प्रदेशका विभिन्न सहर र धार्मिक स्थलहरूमा ट्रफी यात्रा गर्ने तयारी गरेको छ। ट्रफी यात्रालाई कर्णाली प्रदेश क्रिकेट एसोसिएसनले सहजीकरण गर्नेछ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो। गत वर्ष ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका विपिन शर्मा यसपटक कर्णाली याक्समै रिटेन भएका छन्। उनी पहिलो संस्करणको प्रतियोगिताको उदीयमान खेलाडी घोषित भएका थिए।

सुझावित समाचार