पर्यटन बोर्डमा ‘अ टेल अफ टु ल्यान्ड्स’ फोटो प्रदर्शनी हुने

आइतबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाल पर्यटन बोर्डले आफ्नो नियमित दृश्य–संवाद अभियान ‘फोटोनेपाल’अन्तर्गत ‘अ टेल अफ टु ल्यान्ड्स : नेपाल मिट्स सिसिली’ नामक फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ। 

भोलि सोमबारदेखि भृकुटीमण्डपस्थित बोर्डको परिसरमा हुने प्रदर्शनी तीन दिनसम्म चल्नेछ। नेपाल र  इटालीका विविधता झल्किने इटालियन फोटोग्राफर भ्यालेन्टिना ब्रान्काफोर्तेको २५ तस्बिरहरू प्रदर्शनीमा निःशुल्क हेर्न सकिनेछ।

‘अ टेल अफ टु ल्यान्ड्स’ प्रदर्शनीले नेपाल र सिसिलीका धार्मिक तथा सांस्कृतिक उत्सवहरूबिचको समानतालाई फोटोग्राफीको माध्यमबाट जोड्ने प्रयास गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन्।

‘फोटोनेपाल’ अभियान फेब्रुअरी २०१६ मा प्रख्यात स्विस भू–वैज्ञानिक टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरु भएको थियो। नेपालका विविध प्राकृतिक, सांस्कृतिक र मानवीय पाटाहरूलाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यका साथ सुरु गरिएको यो अभियानले निरन्तर रूपमा ‘फोटोनेपाल’ आयोजना गर्दै आएको बोर्डले जनाएको छ।

यस अभियानअन्तर्गतको डिजिटल फोटो पोर्टल www.photo.ntb.gov.np मा सबैले फोटो राख्न र हेर्न सक्छन्। हालसम्म यसमा ११ हजारभन्दा बढी सदस्यहरूका झन्डै २५ हजार फोटोहरू संग्रहित रहेका बोर्डले जनाएको छ।

सुझावित समाचार