हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ आइतबार बिहान खसेका ठुला ढुंगासहितको पहिरो पन्छाएपछि पुनः सञ्चालनमा आएको छ।
बिहान करिब ६ बजेदेखि मकवानपुरको बकैया गाउँपालिका– ११ घट्टेपाखास्थित सडकमा माथिबाट ठुला ढुंगासँगै माटो खसेर सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार स्थानीय निकाय र सुरक्षाकर्मीको प्रयासमा ठुला ढुंगाहरू पन्छाएपछि दिउँसो सडक सञ्चालनमा आएको हो । अवरुद्ध सडक खुल्नासाथ हेटौँडाबाट काठमाडौं र काठमाडौंबाट हेटौँडा जाँदै गरेका सवारीसाधन पुनः सञ्चालनमा आएका छन् ।
यता हेटौँडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक भने अझै सञ्चालन हुन सकेको छैन । निरन्तर वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३, ज्यामिरेमा शनिबार साँझ खसेको पहिरोले सो सडक अझै बन्द रहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । उनका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ ।