आइसिसी महिला क्रिकेट विश्वकप : नयाँ च्याम्पियन बन्ने दाउमा भारत र दक्षिण अफ्रिका

आइतबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण

ऐतिहासिक प्रदर्शन गरेका भारत र दक्षिण अफ्रिका आइसिसी महिला क्रिकेट विश्वकपको नयाँ च्याम्पियन बन्ने योजनामा छन् । घरेलु मैदानमा चलिरहेको विश्वकपमा भारत तेस्रोपटक तथा दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा स्थान बनाएका हुन् । फाइनल खेल नवी मुम्बईस्थित डिवाई पाटिल स्पोटसर्् एकेडेमीमा हुनेछ । दुवै टोली फाइनल ऐतिहासिक बनाउने योजनामा छन् । 

भारतले सर्वाधिक सातपटकको च्याम्पियन अस्ट्रेलियालाई पराजित गर्दै तेस्रोपटक फाइनलमा स्थान बनाएको हो । यसअघि सन् २००५ मा अस्ट्रेलियासँग ९८ रन र सन् २०१७ मा इंग्ल्यान्डसँग नौ विकेटले पराजित हुँदा भारत उपाधिबाट विमुख भएको थियो । भारत र श्रीलंकामा भएको विश्वकपमा भने दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा स्थान बनाएको हो । दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई एक सय २५ रनले हराएको थियो । भारत भने अस्ट्रेलियाविरुद्ध पाँच विकेटले विजयी भएको थियो । जेमिमाह रोड्रिगुजले अविजित १२७ रन बनाएपछि भारत विजयी भएको हो । प्रतियोगितामा भारत र दक्षिण अफ्रिकासहित अस्ट्रेलिया, इंग्ल्यान्ड, श्रीलंका, न्युजिल्यान्ड, बंगलादेश र पाकिस्तानको सहभागिता रहेको थियो । तालिकाको शीर्ष स्थानमा रहेका भारत र दक्षिण अफ्रिकासहित अस्ट्रेलिया र इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेका थिए । 

विजेतालाई कीर्तिमानी पुरस्कार 
आइसिसीले पुरुष क्रिकेटपछि महिला क्रिकेटको विजेताले पाउने पुरस्कार राशिमा पनि वृद्धि गरेको छ । यसपटक विश्वकपको नयाँ च्याम्पियनले ४.४८ मिलियन डलर (करिब ४० करोड भारतीय रुपैयाँ) पाउनेछ । यो रकम २०२२ मा अस्ट्रेलियाले प्राप्त गरेको पुरस्कार राशि (१.३२ मिलियन डलर)को भन्दा २३९ प्रतिशतले बढी हो । उपविजेताले २.२४ मिलियन डलर (करिब २० करोड भारु)पाउँछन । यो रकम २०२२ मा इंग्ल्यान्डले प्राप्त गरेको ६ हजारभन्दा २७३ प्रतिशतले वृद्धि भएको हो । सेमिफाइनलमा हारेका दुई टोली अस्ट्रेलिया र इंग्ल्यान्डले समान १.१२ मिलियन डलर पाउँछन् । अंकतालिकामा पाँचौँ र छैटौँ स्थानमा रहेका टोली क्रमश: श्रीलंका र न्युजिल्यान्ड करिब ५.८ करोड भारु पाउनेछन् । यस्तै, सातौँ र आठौँ स्थानमा रहेका टोली क्रमश: बंगलादेश र पाकिस्तान २.३ करोड भारु पाउनेछन् । 

सुझावित समाचार