लगातार खराब प्रदर्शनपछि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले एकदिवसीय मान्यता गुमाउने जोखिम बढेको छ । आगामी चार वर्षका लागि एकदिवसीय मान्यता पाउन खेलिने आइसिसी पुरुष विश्वकप लिग २ मा १९ खेल खेल्दा नेपालले १२ हार व्यहोरेको छ । स्टुआर्ट लको प्रशिक्षणमा रहेको नेपालले जम्मा पाँच खेल जितेको छ ।
आठ टोली सहभागी लिगमा नेपाल सातौँ स्थानमा छ । यता, शीर्ष स्थानमा रहेको अमेरिकाले २३ खेलमा २४ अंक जोडिसकेको छ । दोस्रो स्थानको स्कटल्यान्डको ३० तथा तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको २८ अंक छ । आइसिसीको नियमअनुसार शीर्ष तीन टिमले सीधै एकदिवसीय मान्यता पाउनेछन् । एक टिमले भने प्लेअफ खेल्नेछ ।
तर, पछिल्लो प्रदर्शनले नेपालको सम्भावना निकै जोखिममा परेको छ । बाँकी शृंखलामा नेपालले लगातार जित्नुपर्ने दबाब छ । यसअघि पनि नेपालले मोन्टी देसाईको प्रशिक्षणमा १२ मध्ये ११ खेल जितेर चार वर्षका लागि मान्यता पाएको थियो । यसपटक पनि नेपालले सोही प्रदर्शन दोहोराउनुपर्ने दबाब छ । युएई भ्रमणमा रहेको नेपालले शृंखलाको अन्तिम खेल बुधबार घरेलु टोलीसँग अन्तिम खेल खेल्नेछ ।
अमेरिकासँग चार विकेटले पराजित
युएईमा चलिरहेको त्रिकोणात्मक शृंखलामा नेपाल लगातार तेस्रो खेलमा पराजित भयो । शनिबार दुबईमा नेपाल शीर्ष स्थानको अमेरिकासँग चार विकेटले पराजित भएको हो । उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएको खेलमा नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदा दुई सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । यसअघि पहिलो खेलमा अमेरिकासँग एक सय ६ रनले पराजित नेपाल दोस्रो खेलमा युएईबाट पाँच विकेटले हार्यो । अमेरिका र घरेलु टोली युएईसँगको प्रतिस्पर्धामा नेपाल ब्याटिङ मै निकै कमजोरी देखियो ।
मिलिन्द र मक्कमल्लको अर्धशतक
अमेरिकाको इनिङ्समा दुई खेलाडीले अर्धशतक बनाए । एक शतकीय साझेदारी बन्यो । साइजेता मुक्कमल्लले सर्वाधिक ७५ रन बनाएका थिए । उनले १०१ बलमा दुई चौका र एक छक्का हिर्काएका हुन् । मिलिन्द कुमारले ६६ बलमा ७० रन बनाए । चार चौका र एक छक्का हिर्काएका उनलाई सन्दीप लामिछानेले भीम सार्कीको हातबाट क्याचआउट गराएका हुन् । मिलिन्द र मक्कमल्लले तेस्रो विकेटका लागि १३२ बलमा १२३ रनको बलियो साझेदारी गर्दै अमेरिकाको जित आधार तय गरेका थिए । यसअघि ओपनरद्वय स्मिथ पटेल र सायन जहाँगिरले ६३ बलमा ५३ रनको दोस्रो ठुलो साझेदारी गरेका हुन् । सायनले ३६ तथा पटेलले १६ रन बनाए । कप्तान मोनान्क पटेलले २१, शुभम रन्जनेले १९ तथा सञ्जय कृष्णमुर्थीले अविजिता १५ तथा हरमित सिंहले १३ रनको योगदान गरेका थिए । नेपालका सन्दीपले सर्वाधिक तीन विकेट लिए । तर, उनले ५३ रन खर्चिएका थिए । अवसर पाएका नन्दन यावद, करण केसी गुल्सन झाले समान एक विकेट लिएका थिए । ललितनारायण राजवंशी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी विकेटविहीन भए ।
दीपेन्द्रको अर्धशतक
पहिलो इनिङ्समा नेपालका लागि उपकप्तान दीपेन्द्रले ६७ बलमा सर्वाधिक ७५ रन बनाएका थिए । दुई चौका र तीन छक्का प्रहार गरेका दीपेन्द्र ४५–३ ओभरमा छक्का हान्ने क्रममा क्याचआउट भएका हुन् । दीपेन्द्रको एकदिवसीयमा यो पाँचौँ अर्धशतक हो । दीपेन्द्रले नेपालका लागि एक शतक पनि बनाएका छन् । आठौँ नम्बर ब्याटिङमा आएका हिटर करण केसीले ३१ बलमा आक्रामक ब्याटिङ गर्दै ४९ रन बनाएका थिए । उनले दुई चौका र तीन छक्का हिर्काउँदै नेपालको इनिङ्स उकासेका थिए । तर, छक्का प्रहार गर्ने क्रममा जसदीपको बलमा रन्जनेबाट क्याचआउट हुन पुगे ।
त्यसअघि ओपनर कुशल भुर्तेलले ६५ बलमा समान दुई चौका र छक्कासहित ४७ रन बनाएका थिए । तेस्रो नम्बर क्रिजमा आएका भीम सार्कीले ५८ बलमा चार चौकासहित ४३ रन बनाएका हुन् । कप्तान रोहितले ३६ रनको योगदान गरेका थिए । कप्तान रोहित र उपकप्तान दीपेन्द्रले ८२ बलमा सर्वाधिक ८९ तथा कुशल भुर्तेल र भीमले १०८ बलमा ८६ रनको साझेदारी गरेका हुन् ।