१३ सय वर्ष पुरानो गंगाजमुना मेलामा दर्शनार्थीको घुइँचो

शनिबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण
१३ सय वर्ष पुरानो गंगाजमुना मेलामा दर्शनार्थीको घुइँचो

धादिङको गंगाजमुना गाउँपालिका– ५ फुलखर्कस्थित ढाँडखर्कमा अवस्थित गंगाजमुना मेला ।

अग्लो पहाड, पहराको टुप्पोबाट खस्ने गंगा र जमुना झरना । गंगाजमुना माई, शिवमन्दिर, गुम्बा, मेलाका स्टलहरू, विभिन्न प्रकारका खेल, सांस्कृतिक कार्यक्रम, बर्खाको समयमा छाता ओढेर मेला भर्न आउनेहरूको घुइँचो । १३ सय वर्ष पुरानो पहाडको खोँचमा रहेको ऐतिहासिक महत्व बोकेको गंगाजमुना मेला धार्मिक आस्था मात्र नभएर संस्कृति, जनजीवन र विश्वासको संगम पनि भएको स्थानीय बताउँछन् ।

दर्शनार्थीरूको भिडले उत्तरी धादिङको गंगाजमुना गाउँपालिका– ५ फुलखर्कस्थित ढाँडखर्कमा अवस्थित मेलाको रौनक झरीमा पनि कमी देखिएन । मेला हरेक वर्ष हरिबोधनी एकादशीको दिन लाग्छ । अघिल्लो दिनदेखि आएका भक्तजन रातभर नाचगान गरेर जाग्राम बस्छन् । राति झाँक्रीनाचको रौनक, भाकल बुझाउन वा दर्शन गर्न आउनेले रातभर आ–आफ्नो वेशभूषा र पहिरनअनुसारको कला देखाउँछन् । लंगुरबुर्जा खेल यहाँको रात्रिकालीन जात्राको विशेषता हो । एकादशीको दिन बिहान झरनाको फेदीमा जम्मा भएका भक्तजनले पूजाआजा गरी मेलालाई पूर्णता दिन्छन् । 

गंगा र जमुना नाम गरेका दुई छोरी बेपत्ता भएको र परिवारले खोज्दै जाँदा गुफाभित्रबाट हामी यहीँ सुरक्षित छौँ, हाम्रो यहीँ पूजापाठ गर्नुहोला भनेपछि उनै गंगा र जमुनाको सम्झनामा करिब १३ सय वर्षअघि मेला सुरु भएको किंवदन्ती छ । ठुलो वर्षा र झरीमा पनि दर्शनार्थीहरूको उल्लेखनीय उपस्थिति रह्यो । हिलो बाटो शिरदेखि पाउँसम्म हिलाम्मे भएर दर्शन गर्न गंगाजमुना मेला आइपुगेका काठमाडौंका ममता मानन्धर मनले चिताएको कुरा पूरा हुने विश्वासले आएको बताउँछिन् । ‘काठमाडौंबाट शुक्रबार हिँडेको शनिबार बल्ल मन्दिर आइपुगियो । दिनभर परेको झरी, हिलो अनि उकालो बाटो निकै सास्ती खेपेर आइपुगेका हौँ,’ उनले भनिन्, ‘गंगाजमुना साँच्चै सुनेको जस्तै मनमोहक र रमाइलो रहेछ । सुन्दर दृश्य, पहाडको टाकुरो, झरना सबै देखेर यात्राका दुःख खुसीमा परिणत भयो । मन प्रफुल्ल बन्यो । धर्म विश्वास हो यहाँ आइपुगेपछि शान्ति मिल्यो ।’

मेला भर्न धादिङका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोरखा, तनहुँ, कास्की, काठमाडौंलगायत ठाउँबाट भक्तजन आउने गरेका छन् । छाता ओढेर अर्काे हातमा लट्ठीको सहायतामा रहेकी गोरखाकी फुलकुमारी मगर हँसिलो मुहारमा मेलामा भेटिइनन् । ‘सकुन्जेल दर्शन गर्न आउन मन छ । मनले चिताएका कुरा पूरा हुने र कुकुर धारामा नुहाउँदा वर्षभरि कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारण हुने विश्वासले पनि हामी मेला आउँछौँ । आजसम्म पुगेकै जस्तो लाग्छ,’ उनले भनिन् । 

गंगाजमुना गाउँपालिका– ५ ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा र जमुना नामका दुई झरना छन् । तीन सय मिटरमाथिबाट झर्ने यो झरनामा नुहाएर मागेको मनोकामना पूरा हुने विश्वास छ । भक्तजनले गंगाजमुना कुण्डमा नुहाउँदा रोग निको हुने तथा परिवारमा सुखशान्ति र समृद्धि छाउने धार्मिक विश्वास छ । झरना झरेको पहराको बिचमा रहेको मन्दिरमा गएर महादेवको पूजाआजा गरिन्छ । ढुंगामै कुदेको मूर्तिले मन्दिरको थप सुन्दरता थपेको छ ।

जात्रामा स्थानीय सरकारले नै हरेक वर्ष सांगीतिक कार्यक्रम आयोजनासँगै थप व्यवस्थित पार्न पहल गर्दै आएको गंगाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडा बताउँछन् । ‘गंगाजमुना गाउँपालिकाको नाम पनि यही मेलाको नामबाट राखिएको हो । गंगाजमुना माई र मेला पालिका र जिल्लाको सम्पत्ति हो । झरना र गंगाजमुना माई धार्मिक तथा पर्यटकीय रूपले परिचित छ । धार्मिक तथा पर्यटकीय हिसाबले महŒवपूर्ण र आकर्षक बनेको गंगाजमुना झरना र माई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको छ,’ उनले भने । पालिकाभित्र रहेका धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धनका लागि विशेष योजना बनाएर काम गरिरहेको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले बताए । 

सुझावित समाचार