आइसिसी पुरुष विश्वकप लिग–२ : नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

शनिबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा नेपालले आइसिसी पुरुष विश्वकप लिग–२ को त्रिकोणात्मक शृंखलामा अमेरिकालाई दुई सय ७२ रनको लक्ष्य दिएको छ। शनिबार युएईको दुबईमा नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा अल आउट हुँदा दुई सय ७१ रन बनायो। नेपालको लागि उपकप्तान दीपेन्द्रले ६७ बलमा सर्वाधिक ७५ रन बनाएका थिए। २ चौका र ३ छक्का प्रहार गरेका दीपेन्द्र ४५-३ ओभरमा छक्का हान्ने क्रममा क्याच आउट भएका थिए। 

आठौँ नम्बर ब्याटिङमा आएका हिटर करण केसीले ३१ बलमा आक्रमक ब्याटिङ गर्दै ४९ रन बनाएका थिए। उनले २ चौका र ३ छक्का हिर्काउँदै नेपालको इनिङ्स उकासेका थिए। ओपनर कुशल भुर्तेलले ६५ बलमा समान दुई चौका र छक्कासहित ४७ रन बनाएका थिए। तेस्रो नम्बर क्रिजमा आएका भीम सार्कीले ५८ बलमा चार चौकासहित ४३ रन बनाएका हुन्। कप्तान रोहितले ३६ रनको योगदान गरेका थिए। 

नेपालको इनिङ्समा दुई ठुला साझेदारी बनेका थिए। कप्तान रोहित र उपकप्तान दीपेन्द्रले ८२ बलमा सर्वाधिक ८९ तथा कुशल भुर्तेल र भीमले १०८ बलमा ८६ रनको साझेदारी गरेका हुन्।ओपनर आसिफ शेखले २, आरिफ शेखले २ तथा गुल्सन झाले ५, नन्दन यादव र ललित राजवंशीले समान एक रन मात्र बनाएका थिए। सन्दीप लामिछाने ४ रनमा अविजित रहे। 

अमेरिकाका हरमित सिंहले तीन तथा नोस्थस केन्जिगे र सौरभ नेत्राभाल्करले समान दुई विकेट लिए । जसदीप सिंह र सुभम रन्जनेले समान एक विकेट लिएका थिए । लिग–२ को यो श्रृंखलामा नेपालले  दुई खेल खेल्दा दुबै खेलमा हारको सामना गरेको छ। अमेरिका र घरेलु टोली युएईसँगको प्रतिस्पर्धामा ब्याटिङ कमजोरीका कारण नेपालले खराब हार व्यहोरेको थियो। 

पहिलो खेलमा अमेरिकासँग एक सय ६ रनले पराजित नेपाल दोस्रो खेलमा युएईबाट पाँच विकेटले हार्यो। लिग–२ मा खराब प्रदर्शन गरिरहेको नेपालको एकदिवसीय मान्यता बिस्तारै धरापमा परिरहेको छ । 

अहिले १२ अंकका साथ नेपाल सहभागी आठमध्ये सातौँ स्थानमा छ। शीर्ष स्थानमा रहेको अमेरिकाले २२ खेलबाट सर्वाधिक ३२ अंक बटुलेको छ। यता युएई भने तालिकाको अन्तिममा छ।
 

सुझावित समाचार