नेपाल वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गर्ने प्रक्रिया अघि बढेको छ। खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको हो।
प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा शुक्रबार समिति गठनको निर्णय गरेकी हुन्। समितिमा क्याप्टेन कुलबहादुर लिम्बू विज्ञसदस्य चयन भएका छन्। मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्य सचिवको काम गर्नेछन्। समितिलाई एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नुपर्ने समय दिइएको छ।
नयाँ महाप्रबन्धक नियुक्त नभएसम्मका लागि निगमकै वरिष्ठ कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीलाई निमित्त महाप्रबन्धक भई काम गर्ने जिम्मेवारी दिइएको छ। निगमको सञ्चालक समिति अध्यक्षको काम अर्को व्यवस्था नभएसम्म उपाध्यक्ष विक्रम राईले गर्ने गरी अधिकार प्रत्यायोजन गरेको मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए।