दक्षिण अफ्रिकाका डु प्लेसिसले विराटनगरबाट एनपिएल खेल्ने

शनिबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण
  • एक दशक दक्षिण अफ्रिकाबाट टेस्ट, एकदिवसीय तथा टी–२० आई खेलेका डु प्लेसिसले करिअरमा ४१ हजार तीन सय ८५ रन बटुलेका छन् 

दक्षिण अफ्रिकाका मध्यक्रम ब्याट्सम्यान फाफ डु प्लेसिसले ठुला स्टार खेलाडीका रूपमा दोस्रो नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) खेल्ने भएका छन् । दक्षिण अफ्रिकाका पूर्वस्टार खेलाडी प्लेसिसले विराटनगर किङ्सबाट खेल्नेछन् । विराटनगरले शुक्रबार विश्व क्रिकेटमै नाम कमाएका दक्षिण अफ्रिकी क्रिकेटर प्लेसिसलाई भित्र्याएको सोसल मिडियाबाट जानकारी दिएको हो । एनपिएलमा आबद्ध आठ फ्रेन्चाइज टोलीले अहिलेसम्म भित्र्याएकामध्ये प्लेसिस माथिल्लो स्तरका क्रिकेटर हुन् ।

‘डु प्लेसिसजस्ता विश्वस्तरीय खेलाडी आउँदा विराटनगर किंग्स र एनपिएलकै लागि गर्वको विषय हो,’ विराटनगरका निर्देशक दीपेन्द्र चौधरीले भने, ‘उनको आगमनले आउने दिनमा अन्य विश्वस्तरीय खेलाडी आउन अझ उत्साहित हुनेछन् ।’ विराटनगरले यसअघि स्कटल्यान्डका जर्ज मुन्से र अस्ट्रेलियाका साम हिजलेटलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको थियो ।

विराटनगरले डु प्लेसिसको आगमनपछि टोलीका अन्य खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटरको अनुभव आत्मसात् गर्न अवसर पाउने जनाएको छ । ‘विश्वकै स्टार खेलाडीको आगमनपछि हाम्रो डे«ेसिङ रुममा डु प्लेसिसको अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव र धेरै सिक्ने अवसर पाउने विश्वास राखेका छौँ,’ चौधरीले भने, ‘यसले एनपिएललाई विश्वस्तरमा पुर्याउने टोलीले विश्वास लिएको छ ।’ 

गत वर्ष विराटनगरले न्युजिल्यान्डका पूर्वखेलाडी मार्टिन गुप्तिललाई ठुला स्टार खेलाडीका रूपमा अनुबन्ध गरेको थियो । यसैगरी, गत वर्ष कर्णाली याक्सले भारतका चर्चित खेलाडी शिखर धवन, चितवन राइनोजले पाकिस्तानका विश्वकप विजेता सोहेल तन्भिर तथा रवि बोपारालाई भित्र्याएको थियो । चितवनले यसपटक पनि तन्भिर र बोपारालाई पुन: अनुबन्ध गरेको छ । आगामी १ देखि २७ मंसिरसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने एनपिएलका लागि विराटनगरको टोलीमा मार्की खेलाडी सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर राना रहेका छन् ।

दुईपटक आइपिएल विजेता
भारतको इन्डियन प्रिमियर लिग (आइपिएल) संसारकै महँगो टी–२० फ्रेन्चाइज हो । डु प्लेसिसले आइपिएल उपाधि दुईपटक जितेका छन् । चेन्नई सुपर किंग्समा रहँदा उनले सन् २०१८ र २०२१ को संस्करणको उपाधि हात पारेका थिए । सन् २०२१ को फाइनलमा उनले कोलकाता नाइट राइडर्सविरुद्ध ८६ रनको म्याच विनिङ प्रदर्शन गरेका थिए । त्यसवेला कोलकाताले दिएको एक सय ९२ रनको चुनौतीपूर्ण लक्ष्यलाई चेन्नईले डु प्लेसिसकै आक्रामक अर्धशतकीय इनिङ्समा पूरा गरेको थियो । 

आइपिएलमा उनका नाममा थुप्रै रेकर्ड छन् । तर, उनले एकपटक पनि आइपिएलमा शतकीय इनिङ्स खेलेका छैनन् । विनाशतक उनले आइपिएलमा चार हजार रन पूरा गरेका छन् । यस्तो सफलता प्राप्त गर्ने उनी आइपिएलकै पाँचौँ खेलाडी हुन् । चेन्नईका पूर्वकप्तान महेन्द्रसिंह धोनी, रोविन उथप्पा, दिनेश कार्तिक तथा गौतम गम्भीरले आइपिएलमा शतकविना नै चार हजार रन बनाएका छन् । एकपटक दिल्ली क्यापिटल्सले उनलाई दुई करोड भारुमा अनुबन्ध गर्दै उपकप्तानको जिम्मेवारी दिएको थियो । सन् २०२२ मा उनले रोयल च्यालेन्जर्स बेंग्लोरको कप्तानी गरेका थिए ।

आइपिएलमा ३९ अर्धशतक
आइपिएलमा शतक वा अर्धशतक बनाउँदा खेलाडी रमाउने गर्छन् । डु प्लेसिसले आइपिएलमा एक सय ५४ खेलमा ३९ अर्धशतकीय इनिङ्स खेलेका छन् । यस क्रममा उनले चार हजार सात सय ७३ रन बटुले । आइपिएलमा उनले १३५.७९ को स्ट्राइकमा ब्याटिङ गर्थे । सन् २०१२ देखि २०२५ सम्म आइपिएल खेल्दा उनले एक सय ७४ छक्का र चार सय ३९ चौका प्रहार गरेका थिए । आक्रामक रूपमा ब्याटिङ गर्न रुचाउने उनी मैदानमा उत्तिकै राम्रो फिल्डिङ गर्छन् । उनले आइपिएलमा एक सय ५४ खेलमा ८५ क्याच लिएका छन् । 

सन् २०२३ को सिजनमा उनी उत्कृष्ट फर्ममा थिए । यसवेला उनले चेन्नईबाट १४ खेलमा सर्वाधिक सात सय ३० रन बटुले । त्यो सिजनमा उनले आठ अर्धशतकीय इनिङ्ससमेत खेले । यसैगरी, सन् २०२१ मा उनले १६ खेलमा ६ सय ३३ रन बनाउँदा ६ अर्धशतक बनाए । सन् २०१७ को सिजनमा उनले केवल दुई खेलमा मात्र मौका पाउँदा आठ रन मात्र बनाए । गत वर्ष उनले नौ खेल खेल्दै दुई अर्धशतकको मद्दतमा दुई सय दुई रन बनाए ।

पाँच वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास
डु प्लेसिस क्रिजमा रहँदा दक्षिण अफ्रिकाले सधैँ मध्यक्रम ब्याटिङ लाइनअप बलियो पाएको थियो । जबर्जस्ती ब्याटिङ र चुस्त फिल्डिङ गर्न सक्ने उनले दक्षिण अफ्रिकाका लागि अन्तिमपटक सन् २०२० मा खेले । घरेलु मैदान केपटाउनमा उनले इंग्ल्यान्डविरुद्ध टी–२० आई खेल खेले । सन् २०११ मा उनले भारतविरुद्ध एकदिवसीय खेलमा डेब्युको अवसर पाए । सन् २०१९ मा उनले एकदिवसीयमा अस्ट्रेलियाविरुद्ध आफ्नो अन्तिम खेल खेले । सन् २०१२ मा अस्ट्रेलियाविरुद्ध टेस्टमा डेब्यु गरेका उनले सन् २०२१ मा पाकिस्तानसँगको खेल अन्तिम बनाए । उनले सन् २०११ देखि ०१९ सम्म एकदिवसीय खेल खेलेका थिए । उनले समग्र टी–२० मा चार सय २४ खेलमा ११ हजार नौ सय ६ रन बनाएका छन् । उनले समग्रमा टी–२० फम्र्याटमा दुई सय ११ क्याच लिएका छन् ।

२३ अन्तर्राष्ट्रिय शतक
एक दशक दक्षिण अफ्रिकाबाट अन्तर्राष्ट्रिय खेल खेल्दा उनले समग्रमा २३ शतकीय इनिङ्स खेलेका छन् । उनले ६९ टेस्टमा १० शतक तथा २१ अर्धशतकको सहयोगमा चार हजार एक सय ६३ रन बनाएका छन् । यसैगरी १४३ एकदिवसीय खेलमा उनले सर्वाधिक १२ शतक तथा ३५ अर्धशतक खेल्दै पाँच हजार पाँच सय सात रन जोडे । टी–२० आईमा उनले ५० खेलमा सातपटक नटआउट रहँदै एक हजार पाँच सय २८ रन जोडे । यस क्रममा उनले एक शतक तथा १० अर्धशतक बनाएका छन् । उनले पहिलो श्रेणीमा १८ शतक तथा ५२ अर्धशतक इनिङ्सको सहयोगमा आठ हजार सात सय ९८ रन जोडे । समग्रमा टी–२० सिरिजमा उनले करिअरमै चार सय २४ खेल खेलेका छन्, जसमा उनले आठ शतक तथा ८३ अर्धशतक बनाए । उनले आइपिएलपछि सेन्ट लुसिया किङ्सबाट सिपिएलको उपाधि जितेका छन् ।

प्रसिद्ध फ्रेन्चाइज लिगको अनुभवी खेलाडी
दक्षिण अफ्रिकाका क्रिकेटरमध्ये डु प्लेसिस विश्वप्रसिद्ध फ्रेन्चाइज टी–२० लिगमा धेरै आबद्ध हुने खेलाडीमा पर्छन् । उनले अस्ट्रेलियाको बिग बास, मेजर लिग क्रिकेट, पिएसएल, बिपिएल, भाइटालिटी ब्लास्ट र एसएटी–२० लगायतका फ्रेन्चाइज लिग खेलेका छन् । उनले अस्ट्रेलिया, पाकिस्तान र वेस्ट इन्डिजको फ्रेन्चाइज क्रिकेट लिगमा निरन्तर सहभागिता जनाएका छन् । समग्र क्रिकेट करिअरमा उनले अहिलेसम्म ४१ हजार तीन सय ८५ रन बटुलेका छन् । 

See More On

सुझावित समाचार