पूर्वकप्तान खड्का पुरुष टोलीका मुख्य प्रशिक्षक

शनिबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्वकप्तान तथा टेक्निकल डिरेक्टर हरि खड्कालाई नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । अस्ट्रेलियन नागरिक म्याट रोसले बुधबार प्रशिक्षकबाट राजीनामा दिएपछि एन्फाले खड्कालाई राष्ट्रिय टोलीको प्रशिक्षणको जिम्मेवारी दिएको हो । बंगलादेशविरुद्धको मैत्रीपूर्ण तथा एसियन कप छनोटमा मलेसियाविरुद्ध खेल्न खड्काले प्रशिक्षण दिनेछन् । यसअघि उनले महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । महिला टोलीको प्रशिक्षक हुँदा नक्कली प्रमाणपत्रमा दोषी ठहरिएपछि उनले पदबाट राजीनामा दिएका थिए । 

यसअघि खड्का नेपाल पुलिसका पूर्वसहायक निरीक्षक थिए । उनले पुलिसबाट लामो समय कप्तानी गर्दै सहिद स्माकर ‘ए’ डिभिजन लिगसमेत जितेका थिए । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसमेत रहेका खड्कालाई ०७८ सालको फागुन ५ गते विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर गरेको थियो । खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७८ सालको माघ १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनले प्रहरी सहायक निरीक्षकमा नियुक्त पाउन नक्कली प्रमाणपत्र पेस गरेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो । अदालतबाट दोषी ठहर भएपछि उनले पुलिसको जागिर छाडेका थिए । 

एएफसी र फिफाले कुनै पनि राष्ट्रको मुख्य प्रशिक्षक बन्न प्रो लाइसेन्स हुनुपर्ने जनाएको छ । नेपालमा प्रो लाइसेन्सप्राप्त कोही पनि प्रशिक्षक छैनन् । यसअघि एन्फाले पुरुष तथा महिला टोलीका मुख्य प्रशिक्षकमा प्रो लाइसेन्स भएका विदेशी प्रशिक्षक नियुक्त गरेको थियो । महिलातर्फका भिक्टरले एन्फाको कमजोर व्यवस्थापन खुलासा गर्दै राजीनामा दिएका थिए । रोसले भने नेपाली पुरुष टोलीलाई राम्रो नतिजा दिलाउन नसक्दा नैतिकताका आधारमा राजीनामा दिएको एन्फाको भनाइ छ ।  

मैत्रीपूर्ण तथा एसियन कप छनोट
आगामी १३ नोभेम्बरमा नेपालले बंगलादेशसँग एउटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । यो खेल फिफा विन्डोमा पर्छ । खेलको नतिजाले फिफा वरीयतामा फरक पर्नेछ । त्यसपछि नेपाली राष्ट्रिय पुरुष टोलीले १८ नोभेम्बरमा एएफसी एसियन कपअन्तर्गत छनोट चरणमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यो खेल नेपालमै हुनुपर्ने थियो । तर, एएफसीले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेलाउन अयोग्य भनेपछि नेपालले घरेलु खेल मलेसियामा खेल्न लागेको हो । नेपाल एसियन कपको छनोटबाट बाहिरिइसकेको छ । नेपाल आफ्नो समूहमा अंकविहीन छ । नेपालले मलेसिया, लाओस र भियतनामलाई नतिजा सुम्पिएको छ । एन्फाले एएफसीलाई तत्काल छनोट प्रतियोगिताका लागि स्वदेशी प्रशिक्षक नियुक्त गर्न अनुमति मागेको थियो । 

सुझावित समाचार