खै कसरी बाँचेँ !

शनिबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

तीनपाटन–११ सुन्दरफाँट, सिन्धुलीकी अनकुमारी तिमल्सिना १६ वर्षदेखि इजरायलमा कार्यरत छिन् । इरानले जुन १९ मा इजरायलको तेलअभिभमा मिसाइल खसाउँदा उनी पनि मुस्लोमा परिन् । भाग्यले बाँचेकी उनको तेलअभिभमै उपचार जारी छ । त्यस दिनको घटना र पछिको सन्दर्भबारे उनले पर्शुराम काफ्लेलाई बेलीविस्तार लगाइन् :

जुन १९, बिहान सवा ७ बजे । तेलअभिभ रमतगानको जेबोटिन्स्की, घर नम्बर १६ मा थिएँ । पचासतले अपार्टमेन्टको तेस्रो तलामा थिएँ । मोबाइलमा मेसेज आयो, साइरन बज्यो । यसको अर्थ हो हामी बंकरमा गइहाल्नुपर्छ । इजरायलमा साइरन बज्ने, बंकरमा जाने घटना सामान्य भएकाले म पनि अभ्यस्त भइसकेकी थिएँ । इजरायल बसेको १६ वर्षमा यस्तो अनुभव धेरै भए पनि त्यो दिनको फरक थियो । पहिलोपटक इरानबाट प्रहार भएको मिसाइल तेलअभिभमा पुगेको थियो ।

साइरन बजेपछि त्यस दिन अपार्टमेन्टको माइनस चार (जमिन मुनि) पुगेँ । म त्यहीँ छेउको घर नम्बर २० मा बस्थेँ । मेरो ड्युटीचाहिँ अपार्टमेन्टमा थियो । हतारिँदै माइनस चार (जमिनमुनिको चौथो तल्ला)मा फटाफट झरेँ । हरेक तलाका लागि तोकिएको बंकर हुन्छ, त्यहीँ जानुपर्छ । त्यहीअनुसार हाम्रो ठाउँ थियो माइनस चार तला ।

यति छिटो साइरन बज्यो कि जुत्ता लगाउने समय पनि भएन । पासपोर्ट, साथमा भएको पैसा, फोन र झोला बोकेर म खाली खुट्टा बंकरमा झरेँ । घर नम्बर १६ को भुइँतलामा इरानी मिसाइल खस्यो । मेरो बुझाइमा रकेट मिसाइलबाट त्यो क्षेत्रका कम्तीमा आठ सय घर प्रभावित भए । पाँच सात घर त पूर्ण रूपमा बस्न नमिल्ने गरी ध्वस्त भयो । धेरै–धेरै बलिया घर पनि ध्वस्त भए, तर यसबारे इजरायलले बाहिर ल्याएको छैन । प्यालेस्टाइनबाट भएको हमलाबाट एउटा घरको कुनै कोठा बिग्रिन्थ्यो, तर त्यस दिन ठुलो क्षति भयो । 

बंकरभित्र हामी सातजना जति थियौँ । मिसाइल बजारिएपछि सबैजना आत्तिए । घरमा आगो लाग्यो । यस्तो आवाज आयो कि भुइँभन्दा चार तलामुनि पनि आतंकित बनायो । विगतमा पनि इजरायलमा प्यालेस्टाइन, लेबनानलगायतबाट रकेट, मिसाइल आइरहन्थे, तर यसपटक निकै घातक मिसाइल प्रहार भयो । 

आगोको मुस्लो आउन थालेपछि म दौडेर माइनस २ मा उक्लिएँ । त्यहाँबाट भुइँतला हुँदै बाहिर निस्किन दौडिँदा भर्याङमै ढलेँ । पूरै ग्याँस र आगोको मुस्लो थियो । असाध्यै घातक र असहज । म सम्झिन पनि सक्दिनँ कि त्यो कति घातक थियो । त्यहाँबाट बाहिर कसरी निस्किएँ, आफैँलाई थाहा छैन । मलाई सपनाजस्तो लागिरहेको छ । 

फुटेका सिसैसिसाको बिचबाट बाहिरिएँ । अपार्टमेन्ट गेटको देब्रेतिर ४० तले ठुलो घर थियो । भागेर म १०० मिटरजति पुग्दै थिएँ । मैले छाडेको घर पूरै आगलागी भयो । म कसोकसो गरेर बाँचेँ । भगवान्को नाम पुकारेँ ।

हामी बाहिर निस्किँदै गर्दा फेरि अर्को मिसाइलवरिपरि ठोक्कियो । म घर र बंकर खोज्दै दौडिएँ, भेटिनँ । भाग्दै थिएँ, एम्बुलेन्स आयो । एम्बुलेन्सले अस्पताल लिएर गयो । अरू केही सम्झना भएन, म बाँचे भन्ने मात्रै सम्झना भइरह्यो ।

करिब १२ घण्टा अस्पतालमा बसेँ । टाउको भारी थियो । बाहिर चोटपटक लागेनछ । कान र आँखामा असर परेको थियो । त्यो दिन मलाई अस्पतालमा भेटेका इजरायलीले अँगालो हालेर भन्थे ‘तिमीलाई ईश्वरले बचाए ।’ त्यो घटनामा परेको भनेपछि अहिले पनि इजरायलीले मलाई बडो सत्कार गर्छन् । 

त्यस दिनकै कुरा बाँकी छन् । सहरभरि कफ्र्यु लागेको थियो । दिमाग खलबलिएको थियो । मेरा सामान के भए, डढे कि नष्ट भए कि थाहा भएन । छिमेकीलाई फोन गरेँ । 

स्थानीय नगरपालिकाले हेल्प डेस्क सञ्चालन गरेको रहेछ । मलगायत घटनामा परेका र बस्ने ठाउँ नभएकाहरूलाई होटेलमा बस्ने खाने बन्दोबस्त गरिएको रहेछ । नगरपालिकाका कर्मचारीले होटेलमा जानु भनेँ र आवश्यक प्रबन्ध गरेँ । मैले भनेँ,‘ठुलो होटेलमा, अग्लो तल्लामा सकभर नपारिदिनुस् ।’ ठुलो घर देख्नासाथ ममा त्रास उत्पन्न हुन्थ्यो । एउटा ट्याक्सीमा मलाई होटेल पुर्याइयो । 

म नेपाली राजदूतावास भएको स्थानबाट नजिकै गुटम्यान होटलमा पुगेँ । पाँचतारे होटेलको भव्य भवन होइन उसकै सानो भवनमा बस्ने बन्दोबस्त भयो । मेरो मन अलिकति शान्त भयो । दुई छाक खाने र बस्ने नि:शुल्क सुविधा भयो । बिहान र साँझको खाना पाइयो, दिउँसोको आफैँ व्यवस्था गर्नुपर्ने भए पनि सहज भयो । उपचारलगायतका धेरैजसो खर्च नगरपालिका वा इजरायल सरकारले व्यहोरेको छ । कतिपय चेकजाँचको खर्च पछि मलाई फिर्ता हुने गरी म आफैँले पनि व्यहोरेको छु । 

१० दिनसम्म पूरै कफ्र्यु थियो । म होटेल पुगेको दुई–तीन दिनमा शुभेच्छुकहरू भेट्न आउनुभयो । साथमा पासपोर्ट र फोन भएकाले सजिलो भयो । 

यस्तो अवस्था भयो कि बाहिर निस्कन सकिएन । छ दिनसम्म एकजोडी लुगाले टार्नुपर्यो । त्यसपछि नयाँ लुगा किनेँ र फेरेँ । त्यस बिचमा सामान किन्ने पसल खुलेनन्, पैसा भएर पनि यस्तो हालतमा बस्नुपर्यो । नगरपालिकाले ६ दिनपछि पाँच सय सेकल (स्थानीय मुद्रा)बराबरको कार्ड दिए, सामान किन्नका लागि । 

म घटनामा परेको ठाउँमा अन्य नेपालीहरू थिएनन् त्यसकारण उहाँलाई असर पर्ने कुरा भएन । त्यहाँ रुसी दुईजना र एक–एकजना इजरायली र मुस्लिम साथीहरू मिसाइलको मुस्लोमा परे । होटेलमा आउनेहरूमध्ये अप्ठ्यारोमा परेको वा मरेर पनि बाँचेको म नै थिएँ । म घटनामा परेको खबर नेपालीहरूले थाहा पाउनुभयो, उहाँहरूमध्ये कतिपय मलाई भेट्न होटेल आइपुग्नुभयो । अर्जुन बस्नेत भन्ने साथीले यो घटनाबारे नेपाली दूतावासलाई पनि खबर गरिएको भन्नुभएको थियो । तर, दूतावासबाट अहिलेसम्म कुनै सोधीखोजी भएको छैन । 

घटनाको केही समयपछि नेपालबाट पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तेलअभिभ आउनुभयो । प्रवासी नेपाली मञ्चको अधिवेशनमा उहाँ आउनुभएको थियो, त्यो कार्यक्रममा मैले नेपाली राजदूत धनप्रसाद पण्डितलाई भेटेँ र आफ्नो कुरा सुनाएँ । मैले थाहै पाइनछु भन्नुभयो । त्यसपछि मैले उहाँसँग भेट गर्न पाएको छैन । हाम्रो दूतावासले वास्ता गरेन । 

मैले इजरायलको भाषा (हिब्रु) जानेका हुनाले सहज भयो । योबाहेक अलिकति पैसा मसँगै भएकाले गर्दा आत्मबल थियो । भाषा र पैसा थिएन भने समस्या नै हुनेरहेछ । मेरो बाहिरी सम्पर्क पनि भएका कारण केही नेपालीहरूले भए पनि घटना थाहा पाए । म कहिलेकाहीँ यो पनि सोच्छु कि म उक्त घटनामा मरेको थिएँ भने कसैले पनि खोज्दैनथे ।

१२ दिनमा तंग्रिँदै गए पनि म सही अवस्थामा फर्केको थिइनँ । म मिसाइल प्रहार भएको ठाउँमा गएँ, जहाँबाट म बाहिर निस्केकी थिएँ । म बसेको अपार्टमेन्टमा गएँ, त्यहाँका मानिसले मेरा सामान निकाल्न सहयोग गरे । ६ जनाले मेरा बचेखुचेका सामान निकालिदिए । धन्य, त्यहाँ भएका मेरा सबैजसो कागजपत्र काम लाग्ने अवस्थामा थिए । तर, लुगा र ल्यापटपहरू काम लाग्ने अवस्थाका थिएनन् । त्यही पनि सँगालेर सुटकेसभित्र राखेकी छु ।

म सम्झिन्छु कि त्यो ठाउँ छाड्न मलाई विगतमा सुझाव आएको थियो । कतिपयले मेसेज पठाएका थिए । मैले मानिनँ । यो एरियामा मिसाइल आउँछ भनेर धेरैले छाडिसकेका रहेछन्, मैले यो कुरा पछि मात्रै थाहा पाएँ । बाँचिँदैन भन्ने थियो, बाँचियो । मेरा लागि अहिले यो नै भगवान्को उपहार भएको छ । 

मेरो उपचार जारी छ । दिन बिराएर अस्पताल गइरहेको छु । राम्रोसँग हिँड्न सकेकी छैन । अलिकति हिँडेपछि थकान हुन्छ । कुर्चीमा लामो समय बस्न सक्दिनँ । आँखाको समस्या समाधान भइसकेको छैन । विभिन्न प्रकारका चेकजाँच जारी छन् । लामो फलोअप समय मिल्यो भने म नेपाल आउँछु । 

खास म अघिल्लो दिन पनि बंकरमै थिएँ । म बस्ने ठाउँभन्दा सातसय मिटर परेको रेलवेको बंकरमा रात बिताएर फर्केको थिएँ । 

See More On

सुझावित समाचार