नेकपा एस फुट्दै गर्दा ओलीको आह्वान–आफ्नै घर फर्किनुस्

शुक्रबार, १५ कार्तिक, २०८२
डिजिटल संस्करण
नेकपा एस फुट्दै गर्दा ओलीको आह्वान–आफ्नै घर फर्किनुस्

फाइल तस्बिर

माधव नेपालले नेतृत्व गरेको दल नेकपा (एकीकृत समाजवादी) फुट्ने निश्चित भएसँगै एमाले अध्यक्ष केपी ओलीले आफ्नै घरमा फर्किएर एकतासहित मिलेर अगाडि बढ्न आह्वान गरेका छन्।

अध्यक्ष नेपालसहित बहुमत पक्षले माओवादी केन्द्रसँग एकता गर्ने अन्तिम निर्णय गर्न लागिरहेका वेला शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत ओलीले एमालेमै फर्किएर एकतामा समाहित हुन आह्वान गरेका हुन्।

एकताको विषयमा निर्णयका लागि अहिले नेकपा एसको बैठक जारी छ। सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित केन्द्रीय कमिटीमा करिब सयजना भने नेकपा एसलाई नै पुनर्गठन गर्ने पक्षमा छन्।

‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्। यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो। फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौँ– देशको स्वाधीनता जोगाऔँ, लोकतन्त्रको रक्षा गरौँ र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौँ,’ ओलीले भनेका छन्, ‘हामी एउटै परिवार हौँ, हाम्रो लक्ष्य स्पष्ट छ– समृद्ध नेपाल, सुखी नेपाली। म सबैमा आह्वान गर्न चाहन्छु– कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा।’

ओलीले धेरै ठुलो त्याग, तपस्या र बलिदानबाट आजको एमाले बनेको भन्दै त्यसका लागि नेकपा एसमा रहेका नेता–कार्यकर्ताहरूको पनि उत्तिकै योगदान रहेको सन्देश दिएका छन्।

‘एमाले केवल एउटा राजनीतिक संगठन होइन, यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो। यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन्। कसैले जेल यातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे र धेरैले सानो–ठुलो योगदान गरेर यो घरलाई अड्याए,’ ओलीले भनेका छन्, ‘आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ। यस्तो वेला हामी मौन रहन सक्दैनौँ। राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।’

सुझावित समाचार