केही दिनदेखिको वर्षा र हिमपातका कारण हिमाली क्षेत्रको पदयात्राका क्रममा मुस्ताङको ‘हिडन भ्याली’ इलाकामा फसेका तीन बेलायती महिला पर्यटकसहित उनीहरूसँगै गएका गाइड, भरिया, सहयोगी गरी कुल १५ जनालाई शुक्रबार उद्धार गरिएको छ।
उच्च शिखर शिक्षालयबाट खटेको नेपाली सेनाको टोलीले चार हजार नौ सय मिटर उचाइमा रहेको बतासेडाँडा इलाकाबाट शुक्रबार उनीहरूको उद्धार गरेको हो। सेनाले तीन दिनको अथक प्रयास र मिहिनेतपछि उनीहरूको बतासेडाँडा इलाकाबाट उद्धार गरिएको हो।
साधारण स्वास्थ्य परीक्षणपछि नेपाली सेनाको इन्द्रबक्स गण, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र गैरसैनिक पथ प्रदर्शकसहितको संयुक्त उद्धार टोलीसँगको सहकार्यमा उनीहरूलाई जोमसोम ल्याउने कार्य भइरहेको छ।
धौलागिरि हिमाल सर्किटबाट फर्किँदै गरेका उनीहरू मुस्ताङको थासाङ गाउँपालिका– १, टुकुचे हिमालको ‘हिडन भ्याली’आसपासमा सोमबारदेखि हिउँमा फसेका थिए। धौलागिरि हिमालको आधार क्षेत्र हुँदै उनीहरू मुस्ताङ प्रवेश गरेका थिए।
उनीहरूको हेलिकाेप्टरमार्फत उद्धार गर्ने भनिएकोमा मौसम खराबीका कारण नसकिएपछि सेनाको टोली उनीहरू फसेको स्थानमा गएर उद्धार गरेको हो। समुद्री सतहबाट पाँच हजार एक सय मिटर उचाइमा रहेको ‘हिडन भ्याली’ क्षेत्रमा पाँच फिटभन्दा अग्लो हिउँ जमेको र बाक्लो हिमपात भइरहेकाले उद्धारमा कठिनाइ भएको थियो।