बिहीबारदेखि सुरु भएको वर्षाका कारण मेची राजमार्ग पुनः अवरोध भएको छ । मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली खण्डमा अवरुद्ध भएको हो । गत असोजमा आएको बाढी र पहिरोले अवरुद्ध भएको सडक केही समयअघि मात्र सञ्चालनमा आएको थियो । सडक डिभिजन कार्यालय इलामले लामो प्रयास गरेर यो सडक सञ्चालनमा ल्याएको थियो । सञ्चालनमा आएको केही समयमै फेरि अवरुद्ध हुन पुगेको हो ।
फेरि पानी पर्न थालेपछि मेची राजमार्गस्थित राजदुवाली सडकखण्ड दबिँदै, भासिँदै र चिरिँदै गएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । सडक अवरुद्ध भएसँगै अर्को सूचना जारी नभएसम्मका लागि यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
यस्तै, इलाम सदरमुकाम जोड्ने वैकल्पिक सडक तिल्केनी–सिमलगोलाई–शिल्पुर सडक खण्ड पनि अवरुद्ध भएको छ । यो सडकअन्तर्गत जोगमाई खोलामा बनेको डाइभर्सनमा क्षति पुगेपछि सडक अवरुद्ध भएको हो ।