चितवनको टिकौलीमा यात्रुवाहक बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

शुक्रबार, १५ कार्तिक, २०८२
डिजिटल संस्करण

चितवनको भरतपुर महानगरपालिका- ९, टिकौली जंगलनजिक गएराति दुईवटा यात्रुवाहक बस र एउटा ट्रक एक–आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये आठजनाको अवस्था मध्यम रहेको चितवन प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति करिब १ बजे रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ख ०१२३ नम्बरको यात्रुवाहक बस सोही दिशामा गुडिरहेको  ना.६ख ८१३ ट्रकसँग पछाडिबाट ठोक्किएको थियो । यस्तै, जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको गरेको  बा.प्र.०३–००१ख ३९०२ अर्को बस उक्त बसको पछाडिबाट पनि ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले बा.प्र.०३–००१ख ३९०२ नम्बरको बसका चालक धनुषा जिल्लाका ४३ वर्षीय कृष्ण मण्डललाई नियन्त्रणमा लिएको छ भने ट्रकचालक फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

यस्तै प्रदेश ३–०३–००१ख ०१२३ नम्बरको बसचालक भने घाइते अवस्थामा रहेको बताइएको छ । घाइतेमध्ये आठजनाको अवस्था मध्यम र २५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूको भरतपुरस्थित विभिन्न अस्पतालहरू नयाँ मेडिकल कलेज, नेसनल सिटी अस्पताल र भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

मध्यम घाइतेहरूमा उदयपुरका सार्थकबाबु क्षेत्री, रौतहटका मुकेश केसरी, धनुषाका सदाकत मियाँ, विधा चौधरी, रौतहटका आरभ मिश्र, कृष्ण साह, सुनिता मिश्रलगायत रहेका छन् । अन्य घाइतेहरू सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि सडक दुवैतर्फ अवरुद्ध भए पनि दुर्घटनाग्रस्त सवारीसाधनहरू सडकको किनारमा लगाइएपछि यातायात नियमित रहेको चितवन प्रहरीले जनाएको छ ।

सुझावित समाचार