भोलिदेखि देशभरका सिनेमा हलमा ‘परान’

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

चलचित्र ‘परान’ शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने भएको छ । ‘परान’लाई दीपकप्रसाद आचार्य (काकु)ले निर्देशन गरेका हुन् ।

आचार्यकै कथा रहेको चलचित्रको पटकथा र संवाद यम थापाले तयार पारेका हुन् । चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश शाह, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङलगायतको अभिनय छ । चलचित्रको गीतमा रिदम कँडेलको संगीत, प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वर छ । गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी ‘बाइस्कोप सिनेमा प्रालि’ले चलचित्र निर्माण गरेको हो ।

निर्देशक आचार्यका अनुसार चलचित्र ‘परान’ नेपाली समाजको एउटा परिवारभित्रको कथा बनेको छ । ‘यो चलचित्रसँग मेरो आफ्नो भावनात्मक सम्बन्ध छ । चलचित्रको कथा मेरो आफ्नै परिवारको कथा हो । यो आमनेपालीको परिवारभित्रको कथा भन्छ,’ उनले भने, ‘चलचित्रको कथा सबैले अपनत्व गर्ने खालको छ । मैले टेलिसिरियल र म्युजिक भिडियोमार्फत कथा भन्दै आएको थिएँ । यो चलचित्र यसको विस्तृत रूपमा हो । कलाकारहरूले पात्रलाई जीवन्त अभिनय गर्नुभएको छ । त्यसैले यो चलचित्र हेर्दा दर्शकलाई आफ्नो कथाजस्तो लाग्छ ।’

अभिनेत्री भुवन चन्दले ‘परान’ पारिवारिक कथामा बनेकाले दर्शकले मन पराउने बताइन् । ‘परान चलचित्र मेरा लागि एकदमै विशेष छ । पारिवारिक कथामा बनेको यो चलचित्र सबैलाई मन पर्ने मेरो विश्वास छ । नीर शाह, मदनकृष्ण श्रेष्ठजस्ता दिग्गज कलाकारसँग काम गर्न पाउनु मेरो लागि अर्काे सौभाग्य पनि हो,’ उनले भनिन् ।

अभिनेत्री केकी अधिकारीले परान पूर्ण मनोरञ्जनका लागि बनेको पारिवारिक तथा भावनात्मक चलचित्र रहेको बताइन् । अभिनेत्री अञ्जना बराइलीले चलचित्रको विषय मन परेर काम गरेको बताइन् । ‘म यो चलचित्रमा जोडिनुको एउटै कारण यसको विषय हो । यो मैले खोजीखोजी हेर्ने चलचित्रभित्र पर्छ । जति काम भएको छ, त्यो राम्रो भएको छ । हलमा हेर्न एकदमै उत्साहित छु,’ उनले भनिन् । 
 

सुझावित समाचार