निरन्तरको वर्षा र हिमपातका कारण पर्यटकको उद्धारमा कठिनाइ

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

केही दिनदेखिको वर्षा र हिमपातका उत्पन्न अप्ठयारोमा परेका पर्यटकहरुको उद्धारमा समस्या भएको छ । वर्षा र हिमपातले मौसम खराब हुँदा गोरखामा उद्धारको पर्खाइमा रहेका ६ जनाको बिहीबार पनि उद्धार गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए । 

चुमनुब्री गाउँपालिका–१ पाङबोचेस्थित पाङबारी पिक आरोहणमा गएका तीन नेपाली र तीन इटालियन पर्यटक बुधबारदेखि अप्ठयारो अवस्थामा रहे पनि उद्धार गर्न नसकिएको श्रेष्ठले बताए । 

इटालिन नागरिकहरू ६७ वर्षका स्टेफानो फर्रोनातो, ६५ वर्षका भेल्टर पेरलिनो र ३७ वर्षका अलेस्सान्द्रो गापुटोसँगै गएका नेपाली गाइड, भरिया र सहयोगीहरु हिउँमा फसेको श्रेष्ठले बताए । उनीहरु भएको स्थानमा हिडेर जान सम्भव नभएको र उघारको लागि हेलिकोप्टर तयारी अवस्थामा रहे पनि खराब मौसमका कारण उद्धार हुन नसकेको श्रेष्ठको भनाइ छ । १ कार्तिकमा शेर्पा अल्पाइन ट्रेकिङ कम्पनीमार्फत उनीहरू पाङबारी पिक आरोहणका लागि गएका थिए ।

ढुंगाले लागेर घाइते भएका व्यक्तिको समेत उद्धार हुन सकेन
मौसम खराबीका कारण मनास्लु पदमार्गमा ढुङ्गाले लागेर गम्भीर घाइते भएका पदयात्रीको उद्धारमा समेत समस्या भएकोछ । मनास्लु पदमार्ग अन्तर्गतको सामागाउँबाट फर्किने क्रममा चुमनुब्री गाउपालिका–५ मा हिंडिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गाले लागेर काठमाडौं टोखा नगरपालिका–६ का ४४ वर्षीय मिनुईन्द्र लम्साल घाइते भएका थिए । घाइते लम्साललाई प्राथमिक उपचारपछि पदमार्गमा रहेको एक होटलमा राखिएको छ । 

यसैबिच केहि दिनदेखि भैरहेको हिमपातलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाले सूचना जारी गर्दै १६ कार्तिकसम्म मनास्लु क्षेत्रमा पदयात्रा नगर्न भनेको छ । त्यस क्षेत्रमा रहेका पदयात्रीहरूलाई आफू रहेको स्थानमा सुरक्षित भएर बस्न र तर यात्रा नगर्न भनिएको छ ।

सम्पर्कमा आयो १५ जनाको टोली
धौलागिरि सर्किटबाट फर्किँदै गरेका र मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचे हिमालको ‘हिडन भ्याली’ आसपासबाट बुधबार बिहान ११ः३० बजेपछि सम्पर्कमा नरहेका तीन बेलायती महिला पर्यटक र उनीहरूसँग गएका गाइड, भरिया, सहयोगी १२ गरी १५ जनाको टोली बिहीबार साँझ १८ः०० बजेतिर सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख छिरिङ किप्पा लामाले जानकारी दिइन । उनीहरू बतासे डाँडा भन्ने स्थानबाट सम्पर्कमा आएको लामाले बाताइन । सो स्थानबाट करिब तीन चार घण्टाको दुरीमा रहेको भेडिगोठसम्म जाने र भेडीगोठमा उनीहरूको सहयोग एवं उद्धारका लागि नेपाली सेनाको टोली पुगीसकेको लामाले बताइन । उनीहरू आज भेडिगोठसम्म आइपुगे भोली शुक्रबार पाँचदेखि ६ घण्टाको पैदलयात्रापछि मार्फको माथिल्लो आलुबारीसम्म आईपुग्ने र त्यहाँबाट गाडीमा सदरमुकाम आउने लामाले जानकारी दिइन । धौलागिरि हिमालको आधार क्षेत्र हुँदै उनीहरू मुस्ताङ प्रवेश गरेका थिए । 

उनीहरूको हेलिकोप्टरमार्फत उद्धार गर्ने भनिएकोमा मौसम खराबीका कारण नसकिएको उनले बताइन् । समुद्र सतहबाट पाँच हजार एक सय मिटर उचाइमा रहेको ‘हिडन भ्याली’ क्षेत्रमा पाँच फिटभन्दा बाक्लो हिउँ जमेको र हिमपात भइरहेकाले उद्धारमा कठिनाई भएको हो । 

यसैगरी मौसममा आएको परिवर्तनसँगै जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना प्रकाशित गर्दै जिल्लाका विभिन्न पाँच पर्यटकीय क्षेत्रहरूमा सवारी सञ्चालनमा रोक लगाएको छ ।  साथै मौसम सफा नभएसम्म पदयात्राका लागि ननिस्कन आग्रह एवं अनुरोध गरेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माका अनुसार सम्भावित बाढी पहिरो, डुबान, भू–क्षय, हिमपात लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावनालाई मध्येनजर गरी बिरेठाँटीदेखि घान्द्रुक, बिरेठाँटीदेखि उल्लेरी, लुम्लेदेखि लान्दुक र काहुँखोलादेखि ताङतिङ÷सिक्लेस सडकखण्डमा बिहीबार साँझ १७.०० बजेदेखि शुक्रबार बिहान ६.०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना भएकोले जिउज्यानको सुरक्षालाई दृष्टिगत गरी अन्नपूर्ण वेसक्याम्प, मर्दि हिमाल, खुमै डाँडा, कोरीलगायतका स्थानमा मौसम सफा नभएसम्म पदयात्राका लागि ननिस्कन समेत सम्पूर्णमा आग्रह एवं अनुरोध गरेको शर्माले बताइन् ।
 

सुझावित समाचार