नेपाल आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृंखलामा संयुक्त अरब इमिरेट्स (युएई)सँग पाँच विकेटले पराजित भएको छ। हारका कारण नेपालका कप्तान रोहितकुमार पौडेलको शतक छायामा परेको छ। उनी नेपालको लागि एकदिवसीय क्रिकेटमा दुई शतक बनाउने पहिलो नेपाली खेलाडी हुन्।
बिहीबार दुबईमा भएको खेलमा टस जितेर ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा युएईले ५ विकेट गुमाउँदै ४३.२ ओभरमै जित निकाल्यो। यो हारपछि नेपालको एकदिवसीय मान्यता जोगाउने योजना कमजोर बनेको छ।
दोस्रो इनिङ्समा युएईको लागि एक खेलाडीले अर्धशतक बनाए। आर्यन्स शर्माले ९८ रन बनाएका हुन्। ९८ बलमा १० चौका र ३ छक्कासहित शतक बनाउने तयारीमा रहेका ओपनर शर्मालाई सन्दीप लामिछानेले आफ्नै हातबाट क्याच आउट गरेका हुन्।
अर्का ओपनर अलिशान सरफुले २६ बलमा ६ चौका र २ छक्कासहित ४५ रन बनाए। २६ रन बनाएका मोहम्मद वासिमल २६ रन बनाउँदा रन आउट भए। १५ रन बनाएका कप्तान राहुल चोपरा रिटायर्ट हर्ट हुँदा हर्षित कौशिकले १३ रनको योगदान गरे। यसअघि ११ बल खेलेर खाता खोल्ने तरखरमा रहेका सोइव खानलाई सन्दीपले सोमपाल कामीको हातबाट क्याच आउट गराएका थिए।
नेपालका सन्दीपले दुई तथा करण केसी र दीपेन्द्र सिंह ऐरीले समान एक विकेट लिए।
पहिलो इनिङ्समा नेपालको लागि कप्तान रोहितले १३० बलमा १०९ रन बनाए। जाहिद अलीको बलमा आउट हुनुअघि उनले पाँच चौका र दुई छक्का हिर्काएका थिए। ओपनर आसिफ शेखले ३५ रन बनाए।
१७.१ ओभरमा आसिफ शेख आउट भएपछि क्रिजमा पुगेका रोहितले ४७.६ ओभरसम्म रहेर नेपालको इनिङ्स तन्काए। एकातर्फ नेपालको इनिङ्स रोहितले तन्काउँदा अर्कोतर्फ भने युएईले विकेट लिइरह्यो। मध्यक्रमका आरिफ शेखले २७ तथा उपकप्तान दीपेन्द्रसिंह ऐरीले रनआउट हुनुअघि २३ रन बनाएका थिए। करण केसीले एक चौका र एक छक्काको मद्दतमा १३ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
ओपनर कुशल भुर्तेल सात तथा तेस्रो क्रमका भीम सार्की मात्र तीन रन बनाएर आउट भए। आशा गरिएका गुल्सनकुमार झा डकआउट भए। सोमपाल कार्मीले ६ तथा सन्दीप लामिछानेले मात्र तीन रन जोड्न सके।
युएईका लागि जाहिद अलीले सर्वाधिक चार विकेट लिँदा जुनाइद सिद्धिकीले तीन विकेट हात पारे।
अब नेपालले शनिबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।