मौसममा आएको परिवर्तनसँगै जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाका विभिन्न पाँच पर्यटकीय क्षेत्रहरूमा सवारी सञ्चालनमा रोक लगाएको छ। बिहीबार एक सूचना प्रकाशित गर्दै प्रशासनले मौसम सफा नभएसम्म पदयात्राका लागि ननिस्कन पनि आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा भारी हिमपातको प्रक्षेपण गरेकाले पोखराआसपासका पर्यटकीय क्षेत्रहरूमा जान रोक लगाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।
मौसम पूर्वानुमानका आधारमा उत्पन्न हुन सक्ने बाढी, डुबान, पहिरो, भू–क्षय, हिमपातलगायतको जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावनासमेतलाई मध्यनजर गरी बिरेठाँटी–घान्द्रुक, बिरेठाँटी–उल्लेरी, लुम्ले–लान्दुक र काहुँखोला– ताङतिङ-सिक्लेस सडकखण्डमा बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म सवारीसाधनहरू सञ्चालनमा रोक लगाइएको शर्माले बताइन्।
उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना भएकाले जिउज्यानको सुरक्षालाई दृष्टिगत गरी अन्नपूर्ण बेस क्याम्प, मर्दी हिमाल, खुमैडाँडा, कोरीलगायतका स्थानमा मौसम सफा नभएसम्म पदयात्राका लागि ननिस्कनसमेत प्रशासनले आग्रह गरेको छ।