अमेरिकाका ब्याटर मिलिन्द कुमार आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि काठमाडाैं गोर्खाजमा आबद्ध भएका छन्। काठमाडाैं गोर्खाजले तेस्रो विदेशी खेलाडीको रूपमा ३४ वर्षे मिलिन्दलाई अनुबन्ध गरेको हो।
काठमाडौं स्पोर्टस् डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमाडाैं गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस र नामिबियाका कप्तान जेरहार्ड इरसमसलाई भित्र्याइसकेको छ।
मिलिन्द उत्कृष्ट लयमा छन्। दुबईमा भइरहेको नेपाल सम्मिलित विश्वकप लिग– २ मा उनले नेपालविरुद्ध ५० बलमा ७० र युएईविरुद्ध ८१ बलमा ७१ रन बनाएका थिए। ‘फरक परिस्थिति र दबाबमा पनि खेल्न सक्ने उनको क्षमता उत्कृष्ट छ। उनलाई काठमाडाैं गोर्खाज परिवारको हिस्साको रूपमा पाउँदा हामी निकै उत्साहिछ छौँ,’ काठमाडाैं गोर्खाजका प्रशिक्षक मोन्टी देसाईले भने।
दिल्लीबाट मिलिन्दले सन् २०११ मा रणजी ट्रफीमा ‘डेब्यु’ गरेका थिए। त्यसपछि उनले सिक्किम, त्रिपुराबाट भारतको घरेलु क्रिकेट खेले। मिलिन्द दुईपटक इन्डियन प्रिमियर लिगको टोलीमा समावेश थिए। २०१४ मा दिल्ली डेयरडेभिल्सले १० लाख र २०१९ मा रोयल च्यालेन्जर्स बेंग्लोरले बेस प्राइस २० लाखमा उनलाई लिएको थियो। तर, उनले आइपिएलमा खेल्न भने पाएका थिएनन्।
सन् २०२१ मा उनी माइनल लिग क्रिकेट हुँदै अमेरिकी क्रिकेटमा स्थापित भएका थिए। उनले पछिल्लो तीन सिजन अमेरिकाको मेजर लिग क्रिकेटमा टेक्सस सुपर किंग्सबाट खेल्दै आएका छन्। नेदरल्यान्ड्सको द हेगमा क्यानडाविरुद्ध खेल्दै उनले अमेरिकाबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए। २०२५ को सेप्टेम्बरमा मिलिन्दले नामिबियाको विन्डहकमा नामिबियाविरुद्ध अविजित ७४ र युएईविरुद्ध अविजित १५५ रन बनाएका थिए।
यसै वर्षको मेमा उनले क्यानडाविरुद्ध अविजित ११५ र ओमानविरुद्ध ६८ रनको इनिङ्स खेलेका थिए, जसको कारण उनी आइसिसीको महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका थिए।
हाल चलिरहेको विश्वपक लिग– २ मा उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन्। उनले २० खेलमा ५८ माथिको औसत र १०० माथिको स्ट्राइक रेटमा ८२३ रन बनाइसकेका छन्, जसमा दुई शतक र ६ अर्धशतक समावेश छ। साथै उनको नाममा २७ विकेट पनि छ। मिलिन्दले सबैखाले टी–२० मा ९० खेल खेल्दै १६ सयभन्दा बढी रन बनाएका छन्।