- धुनीबेँसी र ककनीका स्थानीयवासीको अवरोधपछि काठमाडौं महानगरका फोहोर बोकेका गाडी बाटोमै अलपत्र
बन्चरेडाँडा ल्यान्डफिल्ड साइट क्षेत्रका स्थानीयले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध गरेका छन् । महानगरले फोहोर व्यवस्थापनमा लापरबाही गरेको भन्दै स्थानीय बासिन्दाले बुधबार बिहानदेखि फोहोरका ट्रक रोकेका हुन् ।
स्थानीयको अवरोधपछि फोहोर व्यवस्थापनमा प्रत्यक्ष असर देखिएको छ । महानगरले बुधबार फोहोर विसर्जनका लागि पठाएका कन्टेनरहरू बाटोकै रोकिएका छन् । स्थानीयवासीले आफूहरूका माग सम्बोधन नभएसम्म फोहोरका कन्टेनर अघि बढ्न नदिने अडान लिएका छन् । कन्टेनरको फोहोर बाटोमै छाड्ने, लिच्चड चुहिने, ल्यान्डफिल्ड साइटमा राम्ररी क्यापिङ नगरेको भन्दै स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेका हुन् । उनीहरूले तीन वर्षअघि महानगरसँग भएको १८ बुँदे सहमति सम्झाउँदै कार्यान्वयन गर्नसमेत महानगरको ध्यानाकर्षण गराएका छन् ।
काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले बन्चरेडाँडावासीले बेमौसमी माग राखेर फोहोर अवरोध गरेको बताइन् । ‘स्थानीयवासीको यो बेमौसमी अवरोध हो, हामीले जति सेवा दिएका छौँ, उत्ति नै माग उनीहरूको बढेको छ । हरेकपटक माग बढाउँदा पूरा गर्न कठिन हुने नै भयो,’ उनले भनिन्, ‘अहिले फोहोरका कन्टेनर बाटोमै छन्, स्थानीयसँग छलफल गरेर छिटो समाधान निकाल्छौँ ।’ उनका अनुसार काठमाडौंबाट दैनिक दुई सय कन्टेनर फोहोर बन्चरेडाँडा पुग्छ । उत्यकामा दैनिक एक हजार सात सय मेट्रिकटन फोहोर उत्पादन हुने गरेको छ ।
स्थानीयवासीले महानगरले फोहोर राम्ररी ढुवानी नगरेको, सडकमा फोहोर र लिच्चड खसाल्दा दुर्गन्ध फैलिएको भन्दै विरोध गरेका हुन् । ‘२० वर्षदेखि हामीलाई वार्ता–वार्ता भनेर झुलाउँदै आएको छ, तर हाम्रा यथोचित मागहरू पूरा भएनन्,’ अभियन्ता नवराज ढुंगानाले भने, ‘सम्झौता गरेको १८ बँुदाको पनि राम्ररी कार्यान्वयन भएन, फोहोर ढुवानी गर्दा निकै लापरबाही भयो ।’