जेन–जी अगुवासँग कांग्रेस–एमालेका नेता पनि संवादमा

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

विघटित संसद्का प्रमुख दुई दल कांग्रेस र एमालेले राजनीतिक संकटको समाधानका लागि जेन–जी पुस्ताका अगुवासँग छुट्टाछुट्टै संवाद थालेका छन् । एमाले अध्यक्ष केपी ओली र कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अनुमतिमा दुवै दलका केही नेताले जेन–जी अगुवासँग भेटवार्ता गरेका हुन् ।

ओली आफैँले पनि विभिन्न समूहमा रहेका जेन–जी अगुवासँग छलफल गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले पनि विभिन्न चरणमा जेन–जी अगुवासँग छलफल गरेका छन् ।

मंगलबार कांग्रेसबाट प्रवक्ता डा. प्रकाशशरण महत र नेता रामहरि खतिवडा तथा एमालेबाट पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत र बागमती प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री जयराम थापाले जेन–जी अगुवासँग संवाद गरेका छन् । त्यसपछि खतिवडा र बस्नेतले दोस्रो चरणमा जेन–जी अगुवासँग  छलफल गरेका थिए ।

कांग्रेस नेता खतिवडाले मंगलबार एमाले अध्यक्ष ओली र जेन–जी अगुवासँग छुट्टै छलफल भएको बताए । बहुसंख्यक जेन–जी अगुवा संसद् पुनर्स्थापनाको माध्यमबाट सर्वदलीय सरकार गठन गर्ने र आवश्यकताअनुसार संविधान संशोधन गरेर जाने कुरामा सहमत भएको दाबी गरे । ‘धेरै साथीहरू राजनीतिक दलहरूसँग संवाद गरेर, संसद् पुनर्स्थापना गरेर निकास खोज्नुपर्छ भन्नेमै सहमत हुँदै जानुभएको छ,’ उनले भने, ‘कतिपय साथीहरू होइन, चुनावबाटै निकास खोज्नुपर्छ भन्नेमा देखिनुहुन्छ । हामी सबैलाई एकै ठाउँमा ल्याएर निकास खोज्न लागिरहेकाछौँ ।’

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संकटको निकासका लागि जेन–जीलगायत धेरै मान्छेसँग अध्यक्ष ओलीले नियमित संवाद गरिरहेको बताए । ‘संवादबाटै संकटको निकास दिनका लागि उहाँले नियमितजस्तै छलफल गरिरहनुभएको छ,’ गौतमले भने । 

जेन–जीसँग वार्तामा रहेका एमाले नेता बस्नेतले संवाद सकारात्मक भइरहेको बताए । ‘देशको संकटको निकास राजनीतिक दल र जेन–जी मिलेर मात्र सम्भव छ भन्नेमा उहाँहरू प्रस्ट देखिनुभएको छ,’ बस्नेतले भने । 

केही दिनदेखि जेन–जीहरूसँगको छलफल सकारात्मक बन्दै गएकै कारण ओलीले मंगलबार साँझ संकटको निकासका लागि भन्दै ६ बुँदे मार्गचित्र सार्वजनिक गरेको उनीनिकट एक नेताले बताए । विघटित प्रतिनिधिसभा पुनर्स्थापनापछि जेन–जीसहितको सहभागितामा सर्वदलीय सरकार गठन गरेर आगामी २१ फागुनमै निर्वाचन गर्न सकिने उनले सार्वजनिक गरेको मार्गचित्र छ ।
 

See More On

सुझावित समाचार