भारतविरुद्ध १० खेलाडीलाई मौका, कप्तान अनिता

बुधबार, १३ कार्तिक, २०८२
डिजिटल संस्करण

भारतसँगको मैत्रीपूर्ण खेलमा प्रशिक्षक नवीन न्यौपानेले १० नयाँ खेलाडीलाई मौका दिएका छन्। बुधबार सिक्किमको पाल्जोर रंगशालामा हुने खेलका लागि प्रशिक्षक न्यौपानेले मंगलबार भारतविरुद्ध खेलेका एक खेलाडीलाई निरन्तरता दिँदा १० नयाँ खेलाडीलाई मौका दिएका हुन्।

यता घरेलु टोली भारतले नेपालविरुद्ध खेलेका ११ खेलाडीलाई नै विश्राम दिएको छ। भारतविरुद्ध नेपालको कप्तानी मिडफिल्डर अनिता बस्नेतले गर्नेछिन्। नियमित कप्तान सावित्रा भण्डारीसहित पूर्वकप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा र मिडफिल्डर प्रीति राई वैदेशिक खेलका लागि आ–आफ्नो क्लब प्रस्थान गरिसकेका छन्।

प्रशिक्षक न्यौपानेले गोलकिपरमा उषा नाथलाई मौका दिएका छन्। अञ्जना रानामगरलाई विश्राम दिइएको छ। सन् २०१९ पछि उषाले राष्ट्रिय टिमबाट खेल्ने अवसर पाएकी हुन्। त्यस्तै नयाँ खेलाडी पूर्णिमा राईले डेब्यु गर्दै छिन्। अघिल्लो खेलमा भारतविरुद्ध डेब्यु गरेकी मीना देउवाले पनि दोस्रो खेल खेल्दै छिन्।

यसैगरी डिफेन्डरमा कमब्याक गरेकी हीराकुमारी भुजेल, निशा ठोकर, विमला विक र प्रतीक्षा चौधरी छन्। विमलाबाहेक सबै खेलाडीले कमब्याक गरेका हुन्। विमलाले यसअघि भारत र इरानविरुद्ध खेलेकी थिइन्।

यता, मिडफिल्डमा कप्तान अनिता र पूर्णिमासहित सरु लिम्बू र सरस्वती हमाल छन्। यसअघि खेलेका सविता रानामगर र पूर्वकप्तान रेनुका नगरकोटीले विश्राम पाएका छन्। त्यस्तै, स्ट्राइकरमा मीना र रश्मीकुमारी घिसिङ छन्। सन् २०२२ मा भारतलाई हराउँदै रश्मीले निर्णायक गोल गरेकी थिइन्। रेखा पौडेललाई भने विश्राम दिइएको छ।

यसअघि अन्तर्राष्ट्रिय खेलमा नेपाल इरानसँग ३–० ले पराजित हुँदा घरेलु टोली भारतलाई २–१ ले हराएको थियो। एन्फाका अनुसार यो खेललाई फिफाले मान्यता दिएको छ।

सुझावित समाचार