नामिबियाका कप्तान जेहार्ड इरसमसले लगातार दोस्रो वर्षको नेपाल प्रिमियर लिग (एनपिएल) काठमाडाैं गोर्खाजबाट खेल्ने भएका छन्। काठमाडौं स्पोर्टस् डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमाडाैं गोर्खाजले दोस्रो विदेशी खेलाडीको रूपमा इरसमसलाई भित्र्याएको हो।
उनी सन् २०१९ देखि लगातार नामिबियाको नेतृत्व गर्दै आएका छन्। इरसमसले सन् २०२३ र २०२४ मा आइसिसी पुरुष एसोसिएट क्रिकेटर अफ दी इयर पुरस्कार जितेका थिए। वर्ष २०२४ को पुरुष एसोसिएट क्रिकेटर अफ दी इयर हुने क्रममा इरसमसले सन् २०२३ मा कीर्तिपुरमा नेपालविरुद्धै विश्व क्रिकेट लिग– २ का खेलमा २८ रन खर्चेर पाँच विकेट लिएका थिए, जुन उनको एकदिवसीय अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङ प्रदर्शन पनि हो।
त्यस्तै, उनले सो वर्ष चार अर्धशतक पनि प्रहार गरेका थिए, जसमा वेस्ट इन्डिजमा भएको टी–२० विश्वकपमा स्कटल्यान्डविरुद्ध ३१ बलमा ५२ रन बनाएका थिए। इरसमसले वर्ष २०२४ मा टी–२० अन्तर्राष्ट्रियमा कुल १८ विकेट लिएका थिए। काठमाडाैं गोर्खाजको टोलीसँग उनी यसअघि नै परिचित छन्।
एनपिएलको पहिलो संस्करणमा काठमाडाैं गोर्खाजको उपकप्तानको भूमिकामा सानदार प्रदर्शन गरेका थिए। उनले सात खेलमा १३७ माथिको स्ट्राइक रेटमा ११० रन बनाउनुका साथै ११.९० को औसतमा ११ विकेट लिएका थिए।
३० वर्षे इरसमसले नामिबियाबाट ६३ खेलमा ३८.२१ को औसतमा दुई शतक र १७ अर्धशतकका साथ २१७८ एकदिवसीय अन्तर्राष्ट्रिय रन तथा ७७ टी–२० अन्तर्राष्ट्रियमा एक शतक र १३ अर्धशतकका साथ १२४ माथिको स्ट्राइक रेटमा १८३३ रन बनाइसकेका छन्। उनले पछिल्लो तीन सिजन गुजरात जायन्ट्सबाट युएईको आइएल टी–२० पनि खेल्दै आएका छन्।
काठमाडाैं गोर्खाजले आउँदो सिजनको एनपिएलका लागि भित्र्याएका उनी दोस्रो विदेशी खेलाडी हुन्। यसअघि दक्षिण अफ्रिकामा जन्मिएका र हाल इंग्ल्यान्डको घरेलु क्रिकेटमा खेल्दै आएका रिकार्डो भास्कोनेसेलोसलाई लिएको थियो ।