नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले जेन–जी आन्दोलनको नेतृत्व गरेका युवाहरूको माग र आवश्यकताबमोजिमको नीति र कार्यक्रम बन्ने र कार्यान्वयन गरिने बताएका छन् ।
सिराहाको लहानस्थित जेन–जी समूहले मंगलबार दिउँसो आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशभर नीतिगत भ्रष्टाचार व्यापक बनेकाले जनतामा असन्तुष्टि र विद्रोहको भावना बढ्दै गएको बताए । ‘योग्यता र क्षमताअनुसारको काम नपाएर बेरोजगार हुन बाध्य युवाहरूले जनताको निराशा र आक्रोशलाई विद्रोहमार्फत देखाए,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सबै क्षेत्रको उचित विकास नहुनुमा मूल कारण नीतिगत भ्रष्टाचार नै हो ।’
मुलुकमा बढ्दो भ्रष्टाचार अन्त्यका लागि भएको जेन–जी आन्दोलनमार्फत युवाहरूले खोजेको परिवर्तन गर्न सरकारले त्यही अनुसारको नीति, कार्यक्रम बनाएर कार्यान्वयन गर्ने उनको भनाइ छ । मुलुकमा व्याप्त नीतिगत भ्रष्टाचारले विकास निर्माणको काम अघि बढ्न नसकेको चर्चा गर्दै जेन–जी आन्दोलनलाई पनि भ्रष्टाचारको अन्त्य र रोजगारी सिर्जनाका मागमा केन्द्रित जनआन्दोलनको रूपमा विश्लेषण गरी त्यही अनुसारको नीति कार्यक्रम बनाइने बताए।
खेलकुदको जग्गाको फाइल खोजी
खेलकुद क्षेत्रका पुराना विवाद र नीतिगत अनियमितताको विषयमा समेत चर्चा गर्दै उनले लहान नगरपालिका–३ बलान पुल नजिक जिल्ला खेलकुद विकास समितिको नाममा रहेको सात बिघा पाँच कट्ठा १७ धुर जग्गामा समेत नीतिगत भ्रष्टाचार भएको दाबी गरे । ‘त्यति जग्गा उपभोगको उचित मूल्य नउठेको सुनेको छु, त्यसको फाइल आफैँले खोजी गरिरहेको छु ।’
कञ्चनपुर कमला सडक योजनाको ठेक्का लिएको चाइना रेलवे नं २ इन्जिनियरिङ ग्रुपले करिब पाँच वर्षअघि तत्कालीन खेलकुदमन्त्रीको पहलमा राष्ट्रिय खेलकुद परिषद्सँग समितिको जग्गा उपभोगका लागि सम्झौता गरेको जिल्ला खेलकुद विकास समिति सिराहाले जनाएको छ। त्यति वेला परिषद्सँग भएको सम्झौताबमोजिम समितिको कबर्ड हल बनेकोबाहेकका जग्गा ग्रुपले उपभोग गरेबापत भाडा कति दिने थाहा नभएको, तर कबर्ड हलको मर्मत, जग्गाको बाउन्ड्री, ब्याडमिन्टन कोर्टमा पार्केटिङलगायतको काम गरिदिने रहेको समितिका कर्मचारी राजेश गुप्ताले बताए।
छठ पूजाको अवसरमा गृहनगर लहान आएको अवसरमा मन्त्री गुप्ताले लहान–१५ स्थित जेन–जी सहिद विजय चौधरीको घर पुगेर परिवारसँग भेटघाट गरेका थिए। भेटघाटको क्रममा उनले सरकारले सहिद परिवारलाई बेवास्ता गर्न नहुने र तिनका सपना पूरा गर्ने दिशामा आफू सक्रिय रहने प्रतिबद्धता जनाएका थिए।