दोस्रो एनपिएलका लागि विदेशी खेलाडी भित्रिने क्रम जारी

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण
  • एनपिएलका फ्रेन्चाइज टोलीहरूले आइतबार इंग्ल्यान्ड, नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाका अनुभवी क्रिकेटर भित्र्याएका छन्

कर्णाली याक्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)का लागि तेस्रो विदेशी खेलाडीका रूपमा नेदरल्यान्ड्सका ओपनर म्याक्स वेल प्याट्रिक ओ डाउडलाई अनुबन्ध गरेको छ । कर्णालीका निर्देशक गृहेन्द्र घिमिरेले नेदरल्यान्ड्सका अनुभवी ब्याट्सम्यान अनुबन्ध गरेको सोमबार जानकारी दिएका छन् । यसअघि कर्णालीले पहिलो विदेशीका रूपमा स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाट र दोस्रोमा अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरेको थियो । 

‘हामीले ओपनिङ ब्याटिङ बलियो बनाउन एसोसिएट राष्ट्र नेदरल्यान्ड्सका म्याक्सलाई अनुबन्ध गरेका हौँ,’ निर्देशक घिमिरेले भने, ‘उनी त्रिविको मैदान र नेपाली खेलाडीसँग राम्रोसँग परिचित छन् ।’ कर्णालीले बासिस्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउडले पहिलोपटक एनपिएल खेल्दै छन् । ३१ वर्षीय ओ डाउडले नेदरल्यान्ड्सबाट ८७ टी–२० आई खेलेमा दुई हजार तीन सय नौ रन बनाएका छन् । 

यस विधामा उनले एक शतकसहित १६ अर्धशतक बनाएका छन् । उनले ६५ एकदिवसीय खेलमा दुई हजार १५३ रन जोडेका छन् । पहिलो संस्करणमा कर्णाली क्वालिफायरसम्म पुगेको थियो । त्रिवि क्रिकेट मैदानमा आगामि १ मंसिर देखि दोस्रो एनपिएल हुनेछ ।

काठमाडौंमा पहिलो विदेशी 
एनपिएलको फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजले दक्षिण अफ्रिकन विकेटकिपर तथा ब्याट्सम्यान रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको छ । उनी काठमाडौं भित्रिने पहिलो विदेशी खेलाडी हुन् । जोहानेसबर्गमा जन्मिएका भास्कोनेसेलोसले दक्षिण अफ्रिकाको यू–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् ।

उनले दक्षिण अफ्रिकाको घरेलु क्रिकेटमा बोल्यान्डबाट प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यु’ गरेका थिए । पछिल्लो समय नर्थम्टनसायरबाट इंग्ल्यान्डको काउन्टी क्रिकेट खेल्दै आएका भास्कोनेसेलोसले भाइटालिटी ब्लास्टको पनि अनुभव लिइसकेका छन् ।

काठमाडौंले मार्की करण केसीसहित भीम सार्की, शाहब आलम रसिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ । काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा एनपिएलको दोस्रो सिजन खेल्नेछ ।

पोखराले गर्यो रोसिङटनलाई अनुबन्ध
पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अनुभवी विकेटकिपर तथा आक्रामक ब्याट्सम्यान एडम रोसिङटनलाई अनुबन्ध गरेको छ । पहिलो संस्करणमा सबैभन्दा महँगो फ्रेन्चाइज टोली बनेको पोखराले यसपटक शीर्षक्रम बलियो बनाउनेअनुरूप ३२ वर्षीय रोसिङटनलाई अनुबन्ध गरेको जनाएको छ । रोसिङटनले घरेलुस्तरमा लामो समय बिताएका छन् । उनले मिडल–सेक्सबाट करिअर सुरु गरेका थिए । नर्थह्याम्पटनसायर र एसेक्समा आबद्ध उनले काउन्टी क्रिकेटमा एक सयभन्दा बढी पहिलो श्रेणीका खेल खेलेका छन् । उनले टी–२० विधामा तीन हजार पाँच सयभन्दा बढी रन बनाएका छन् । 

दायाँहाते ब्याट्सम्यान तथा विकेटकिपर रोसिङटनले पावरप्लेमा आक्रामक रूपमा ब्याटिङ गर्छन् । उनले पाकिस्तान सुपर लिगमा कराँची किङ्सबाट, युएईमा हुने आइएलटी २० लिगमा दुबई क्यापिटल्स, इंग्ल्यान्डको द हन्ड्रेड लिगमा लन्डन स्पिरिटबाट खेलेका छन् । उनले दक्षिण अफ्रिकाको एसए २० मा सनराइजर्स इस्टर्न केपबाट खेल्दा पहिलो संस्करणमै टोलीलाई उपाधि जिताउन योगदान दिएका थिए । उनले फाइनलमा ३० बलमा ५७ रन जोडेका थिए । पोखराका मालिक सुबोध त्रिपाठीले दोस्रो सिजनमा चर्चित विदेशी क्रिकेटर ल्याउने क्रम सुरु गरेको जानकारी दिए । पोखराले यसअघि टोलीमा मार्की खेलाडी कुशल भुर्तेलसहित सातजनालाई रिटेन गरेको थियो । 

See More On

सुझावित समाचार