नेपालले त्रिदेशीय फुटबल प्रतियोगिताको अन्तिम खेलमा घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको छ ।
भारतको सिलोङमा नेपाललाई जित दिलाउन दुवै गोल कप्तान सावित्रा भण्डारीले गरिन् । उनले दुवै हाफमा समान एक गोल गरेकी हुन् । भारतको लागि करिश्मा शिरभोइकरले एक गोल फर्काइन् ।
नेपालले भारतलाई चौथोपटक पराजित गरेको हो । पछिल्लोपटक सन् २०२४ मा भएको साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पेनाल्टी सुटआउटमा हराएको थियो । त्यसअघि सन् २०२२ मा रश्मीकुमारी घिसिङको एकमात्रै गोलमा नेपालले भारतलाई हराएको हो । सन् २०१९ मा नेपालले पहिलोपटक भारतलाई हिरो गोल्डकपमा पराजित गरेको थियो ।
प्रशिक्षक नवीन न्यौपानेले भारतलाई हराउँदा स्ट्राइकर मीना देउवालाई डेब्यु गराएका थिए । मीनासहित पूर्णिमा राईले पहिलोपटक राष्ट्रिय टिममा स्थान बनाएका थिए ।
योसँगै नेपाल प्रतियोगितामा उपविजेता भएको छ । भारत भने जितविहिन रह्यो । भारत पहिलो खेलमा इरानसँग २–० र नेपाल पनि इरानसँग ३–० ले नै पराजित भएको थियो । अब, नेपालले भारतसँग नै अर्को मैत्रीपूर्ण खेल खेल्नेछ ।