राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकको भूमिकामा सक्रिय रहँदै अन्तर्राष्ट्रिय मञ्चमा चिनाउँदै आएका अन्तर्राष्ट्रिय क्योकुशिन कराँतेका प्रशिक्षक तथा खेलाडी अशोक लामा रुम्बालाई पोखरामा सम्मान गरिएको छ।
क्योकुशिन कान कराँते संघ कास्कीले सोमबार पोखरा रंगशालामा एक कार्यक्रम आयोजना गर्दै रुम्बालाई स्वागतसँगै सम्मान गरेको हो।
रोजगारीको शिलशिलामा हाल स्पेनमा रहेका रुम्बाले २३ र २४ नोभेम्बर २०२५ मा स्पेनमा सम्पन्न १०औं स्पेनिस ओपन क्योकुशिन कराँते च्याम्पियनशिपमा प्रमुख प्रशिक्षकका रुपमा निभाएको भूमिकाको कदर गर्दै संघले सम्मान गरेको हो।
सम्मानपछि रुम्बाले आफू जन्मेको देश र माटोप्रतिको माया संसारको जहाँ रहे पनि रहिरहने बताए। देशको अवस्थाले विदेशिए पनि मन नेपालकै लागि धड्किने बताउँदै उनले सक्षम नेपाली खेलाडीलाई आगामी दिनमा स्पेनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन पहल गर्ने प्रतिबद्धता जनाए।