राष्ट्रपति रामचन्द्र पौडेलले छठी माताको पूजा–आराधना गरेका छन् । राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि बागमती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा–अर्चना गरेका हुन् ।
राष्ट्रपति पौडेलका साथै प्रथम महिला सविता पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घ्य दान गरेका थिए । देशका विभिन्न भागमा भव्य रूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरीमा सूर्यदेवसहित छठी माताको पूजा–आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा काठमाडौंको गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत स्थानमा पनि भव्य रूपमा मनाइन्छ ।
छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाइएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी-गौरीघाटलगायत राजधानीका अन्य स्थानलाई पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न भक्तजनको घुइँचो लागेको छ ।