काठमाडाैं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका लागि विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको छ। दक्षिण अफ्रिकामा जन्मिएका रिकार्डो हाल इंग्ल्यान्डको घरेलु क्रिकेट खेल्दै आएका छन्।
सोमबार आफ्नो २८औँ जन्मदिन मनाइरहेका रिकार्डोलाई काठमाडाैं गोर्खाजले पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो। दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जन्मिएका रिकार्डोले दक्षिण अफ्रिकाको यू–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। उनले दक्षिण अफ्रिकाको घरेलु क्रिकेटमा बोल्यान्डबाट प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यु’ गरेका थिए।
रिकार्डो पछिल्लो समय इंग्ल्यान्डमा घरेलु क्रिकेट खेल्दै आएका छन्। नर्थम्टनसायरबाट काउन्टी क्रिकेट खेल्नुका साथै भाइटालिटी ब्लास्ट खेलिरहेका छन्। साथै उनी यस टोलीको कप्तान पनि रहेका थिए। दुई महिनाअघि सम्पन्न भाइटालिटी ब्लास्टको २०२५ संस्करणमा रिकार्डोले १४२ माथिको स्ट्राइक रेटमा १५ खेलमा ३४२ रन बनाएका थिए। भाइटालिटी ब्लास्टमा उनले कुल ६० खेलमा १२७ माथिको स्ट्राइक रेट १४४६ रन बनाइसकेका छन्।
काठमाडौं स्पोर्टस् डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमाडाैं गोर्खाज रिकार्डोको अनुबन्धलाई लिएर निकै उत्साहित छ। मार्की खेलाडी करण केसीसहित भीम सार्की, साहव आलम, रसिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई रिटेन गरेको काठमाडाैं गोर्खाजले मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापालाई लिएको थियो।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा काठमाडाैं गोर्खाजले खेल्नेछ। टोलीको प्रशिक्षकमा वसन्त शाही रहेका छन्।