स्पेनिस ला लिगाअन्तर्गत पहिलो ‘एल क्लासिको’मा आइतबार रियल म्याड्रिडले बार्सिलोनामाथि २–१ को रोमाञ्चक जित निकालेको छ । घरेलु मैदान सान्टिएगो बर्नाबेउमा रियललाई जित दिलाउन केलियन एम्बाप्पे र जुडे वेलिंघमले समान एक गोल गरेका थिए । बार्सिलोनाका लागि फेर्मिन लोपेजले गोल फर्काए । साबी अलोन्सोको प्रशिक्षणमा रहेको रियल म्याड्रिडले शीर्ष स्थानमा बार्सिलोनासँग ५ अंकको अग्रता बनाएको छ । गत वर्षको एल क्लासिको रियल म्याड्रिडले गुमाएको थियो ।
रियल म्याड्रिडले १० खेलमा नौ जित र एक हार सामना गरी २७ अंक जोडेको छ । सिजनकै पहिलो एल क्लासिको खेल गुमाएको बार्सिलोनाले १० खेलमा सात जित हात पारेको छ । समग्रमा दुई हार र एक ड्र निकालेको बार्सिलोनाले १० खेलमा २२ अंक जोडेको छ । तेस्रो स्थानमा भिल्लारियलको २० अंक छ ।
चौथो स्थानको इस्पोनोलले १८ अंक बटुलेको छ । रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा ६ मिनेट र दोस्रो हाफमा नौ मिनेटको इन्जुरी समय थप भएको थियो । अन्तिम इन्जुरी समयमा पाहुना टोली १० खेलाडीमा सीमित भएको थियो । पेड्रोले दोहोरो पहेँलो कार्ड पाएका थिए । अन्तिम दुई मिनेटको इन्जुरी समयमा बार्सिलोनाले रियल म्याड्रिडविरुद्ध १० खेलाडीमा प्रतिस्पर्धा गरेको थियो ।
रोमाञ्चक पहिलो हाफ
रियल म्याड्रिडको घरेलु मैदान सान्टिएगो बर्नाबेउमा पहिलो हाफ रोमाञ्चक भयो । प्रतिस्पर्धामा भएका तीन गोल नै पहिलो हाफमै भएका थिए । रियलले दुई तथा बार्सिलोनाले एक गोल गरेको थियो । घरेलु मैदानको फाइदा लिँदै रियलले बार्सिलोनामाथि सुरुदेखि नै दबाब राखेको थियो । आक्रामक रूपमा प्रस्तुत रियल म्याड्रिडले खेलको २२औँ मिनेटमा बार्सिलोनाविरुद्ध १–० को अग्रता लियो । उत्कृष्ट फर्ममा देखिएका एम्बाप्पेले वेलिंघमको क्रसमा सहजै गोल गरे ।
बल पोसेसन बलियो बनाएको बार्सिलोनाले खेलको ३८औँ मिनेटमा बराबरी गोल फर्काएको थियो । लोपेजले सहजै डिबक्सभित्र रियल म्याड्रिडको रक्षापंक्ति तोड्दै बार्सिलोनालाई मध्यान्तरअघि खेलमा फर्काएका थिए । तर, खेलको ४३औँ मिनेटमा वेलिंघमले अनमार्कमा रहँदै रियल म्याड्रिडलाई २–१ को अग्रता दिलाउन सफल भए । प्रतिस्पर्धामा थप गोल भएन र वेलिंघमकै गोल नै निर्णायक बन्यो । उनले एडेर मिलिटाउको क्रसमा गोल गरेका हुन् ।