कर्णाली याक्स स्पोर्टस् प्रालिले स्ट्रेन्थ पार्टनरको रूपमा प्लम्बर पाइप्ससँग सह–प्रायोजनका लागि सम्झौता गरेको छ।
आइतबार काठमाडौंको याक एन्ड यति होटेलमा आयोजित कार्यक्रममा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र प्लम्बर पाइप्सका म्यानेजिङ डाइरेक्टर नितिन जालानले सम्झौता-पत्रमा हस्ताक्षर गरे।
जय बागेश्वरी रोटो मोल्डिङ इन्डस्ट्रिजले यो कम्पनी २०७१ सालदेखि नेपालमा ल्याएको हो। सम्झौता नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको लागि भएको हो। प्लम्बर पाइप्सका डाइरेक्टर निरज जालानले कर्णाली याक्ससँग जोडिनु गौरवको विषय रहेको बताए।
२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो। दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ। टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन्।
कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ। अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको छ।
यसअघि, कर्णाली याक्सले विदेशी खेलाडीका स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाट र अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरिसकेको छ। कर्णालीले हस्पिटालिटी पार्टनरमा याक एन्ड यती तथा सहप्रायोजकमा नेबिकोसँग सम्झौता गरेको छ।