ब्याटिङमा चुक्दा नेपाल अमेरिकासँग १०६ रनले पराजित

आइतबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण

कमजोर ब्याटिङका कारण नेपाल आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको छ।

आइतबार युएईको दुबईमा टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा नेपालले ४० ओभरमा सबै विकेट गुमाउँदा मात्र १५५ रन बनायो।

अमेरिकाको इनिङ्समा दुई खेलाडीले अर्धशतक बनाउँदा नेपाली ब्याटर भने चल्नै सकेनन्। नेपाल बलिङ र ब्याटिङ दुवैमा चुक्यो। रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले फिल्डिङमा पनि सोचेजस्तो प्रदर्शन गर्न सकेन।

यो शृंखलामा नेपाल र अमेरिकासहित आयोजक संयुक्त अरब इमिरेट्स (युएई) सहभागी छन्। नेपाल १७ खेलमा १२ अंकसहित आठ टोली सहभागी लिगको सातौँ स्थानमा छ। अमेरिका भने २१ खेलबाट ३० अंकसहित दोस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको स्कटल्यान्डको पनि समान ३० अंक छ। यही शृंखला खेलिरहेको युएई भने पुछारमा छ।

युएई भ्रमणमा रहेको नेपाल घरेलु टोली र अमेरिकालाई शृंखलामा हराउँदै तालिका सुधारको योजनामा छ। तर, स्टुआर्ट लको प्रशिक्षणमा रहेको नेपाल पहिलो खेलमै पराजित भयो। अब, नेपाललाई शृंखलाको बाँकी तीनै खेल जित्नुपर्ने दबाब छ। यो शृंखला सोचेजस्तो नभए नेपालको एकदिवसीय मान्यता नै धरापमा पर्नेछ। चार महिनाअघि स्कटल्यान्डमा नेपालले नेदरल्यान्ड्स सम्मिलिन शृंखलामा चारमध्ये तीन खेल जितेपछि एकदिवसीय मान्यता जोगाउने सम्भावना बढेको थियो।

आजको खेलको दोस्रो इनिङ्समा नेपालका कुनै पनि खेलाडीले ठूलो साझेदारी गर्नै सकेनन्। अमेरिकाले एक पछि अर्को विकेट लिएर नेपाललाई दबाबमा राखेको थियो। नेपालको लागि दीपेन्द्र सिंह ऐरीले ६० बलमा तीन चौकासहित सर्वाधिक ४० रन बनाए। ओपनर आसिफ शेखले ३७ रन बनाए। उनले ३९ बलमा चार चौका र एक छक्का हिर्काएका थिए।

कमब्याक गरेका भिम सार्कीले २९, आरिफ शेखले २० तथा सोमपाल कामीले ११ रन बनाए। ओपनर कुशल भुर्तेल दुई बल खेल्दा डक भए। कप्तान रोहित १९ बल खेल्दा मात्र २ रन बनाएर पेभिलियन फर्किएपछि नेपाल दबाबमा आएको थियो। हिटर करण केसी पनि ८ बलमा मात्र २ रन बनाउन पुगे। आशा गरिएका अर्का युवा खेलाडी गुल्शन झाले पनि मात्र ३ रन बनाए।  सन्दीप लामिछाने गोल्डेन डक भए।

अमेरिकाको लागि हरमीत सिंहले सर्वाधिक ५ विकेट लिएका थिए । उनले ८ ओभरमा एक मेडनसहित २६ रन खर्चिए। हरमीतले ओपनर आसिफसहित गुल्शन, सोमपाल, करण र सन्दीपको विकेट लिएका थिए। शुभम रन्जनेले २ तथा रुशिल उगारकारले एक विकेट लिए।

यसअघि पहिलो इनिङ्समा टस हारेको अमेरिकाको लागि स्मिथ पटेलले सर्वाधिक ७५ रन बनाए। भारतीय यू–१९ टिमबाट खेलिसकेका पटेलले १०० बलमा नौ चौका प्रहार गर्दा सोमपाल कामी र करण केसीले रनआउट गराएका थिए। मिलिन्द कुमारले अविजित ६८ रन जोडे । उनले ४९ बलमा ६ चौका र दुई छक्का हिर्काएका थिए।

तेस्रो विकेटका लागि पटेल र मुक्कमल्लले ११४ बलमा सर्वाधिक ९५ रनको साझेदारी गरे। १३.५ ओभरमा ४८ रन बनाउँदा दुई विकेट गुमाएको अमेरिकालाई पटेल र मुक्कमल्लले मिलेर ३२.५ ओभरसम्म पु¥याएका थिए। तेस्रो विकेट गुमाउँदा अमेरिकाले १४३ रन बनाएको थियो।

यसबाहेक साइतेजा मुकमल्लले ५८ बलमा तीन चौका र एक छक्कासहित ४२ रनको योगदान गरेका थिए । सुभम रन्जने १९ रन बनाएर पेभिलियन फर्किएका थिए । छैटौँ विकेटका लागि मिलिन्द र रन्जनेले ५० बलमा ५६ रनको दोस्रो ठुलो साझेदारी गरेका हुन् । हरमित सिंहले १६ रन बनाए ।

प्रशिक्षक स्टुआर्ट लले अमेरिका करण र सोमपालसहित ८ बलर प्रयोग गरेका थिए । १० ओभरमा ५६ रन खर्चिएका सन्दीपले दुई विकेट लिएका थिए । सोमपाल, आरिफ शेख, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिएका थिए । दश ओभर बलिङ गरेका करणसहित गुल्सन झा, ललितनारायण राजवंशी र कुशल भुर्तेल विकेटविहीन भएका थिए । 

अब नेपालले शृंखलाको दोस्रो खेल बिहीबार घरेलु टोली युएईसँग खेल्नेछ।

सुझावित समाचार