अमेरिकाले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपाललाई २६३ रनको लक्ष्य दिएको छ ।
आइतबार युएईको दुबईमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनाएको हो । अमेरिकाको इनिङ्समा दुई खेलाडीले अर्धशतक बनाएका थिए ।
यो शृंखलामा नेपाल र अमेरिकासहित आयोजक संयुक्त अरब इमिरेट्स (युएई) सहभागी छन् । टस हारेको अमेरिकाको लागि स्मिथ पटेलले सर्वाधिक ७५ रन बनाए । भारतीय यू–१९ टिमबाट खेलिसकेका पटेलले १०० बलमा नाै चौका प्रहार गर्दा सोमपाल कामी र करण केसीले रनआउट गराएका थिए । मिलिन्द कुमारले अविजित ६८ रन जोडे । उनले ४९ बलमा ६ चौका र दुई छक्का हिर्काएका थिए ।
तेस्रो विकेटका लागि पटेल र मुक्कमल्लले ११४ बलमा सर्वाधिक ९५ रनको साझेदारी गरेका थिए । १३.५ ओभरमा ४८ रन बनाउँदा दुई विकेट गुमाएको अमेरिकालाई पटेल र मुक्कमल्लले मिलेर ३२.५ ओभरसम्म पुर्याएका थिए । तेस्रो विकेट गुमाउँदा अमेरिकाले १४३ रन बनाएको थियो ।
यसबाहेक साइतेजा मुकमल्लले ५८ बलमा तीन चौका र एक छक्कासहित ४२ रनको योगदान गरेका थिए । सुभम रन्जने १९ रन बनाएर पेभिलियन फर्किएका थिए । छैटौँ विकेटका लागि मिलिन्द र रन्जनेले ५० बलमा ५६ रनको दोस्रो ठुलो साझेदारी गरेका हुन् । हरमित सिंहले १६ रन बनाए ।
प्रशिक्षक स्टुआर्ट लले अमेरिका करण र सोमपालसहित ८ बलर प्रयोग गरेका थिए । १० ओभरमा ५६ रन खर्चिएका सन्दीपले दुई विकेट लिएका थिए । सोमपाल, आरिफ शेख, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिएका थिए । दश ओभर बलिङ गरेका करणसहित गुल्सन झा, ललितनारायण राजवंशी र कुशल भुर्तेल विकेटविहीन भए ।
नेपाल १६ खेलमा १२ अंकसहित आठ टोली सहभागी लिगको सातौँ स्थानमा छ । अमेरिका भने २० खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ ।
भ्रमणमा रहेको नेपाल अमेरिका र युएईलाई यो शृंखलामा हराउँदै तालिका सुधारको योजनामा छ । स्टुआर्ट लको प्रशिक्षणमा नेपालले चार महिनाअघि खेलेको शृंखलामा चारमध्ये तीन खेल जितेको थियो ।