अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाको भ्रमणमा निस्किएका छन्। यो भ्रमणमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङदेखि उत्तर कोरियाका किम जोन–उनसम्मलाई भेट्ने बताइएको छ।
ट्रम्प आइतबार बिहान मलेसिया पुग्नेछन्। आसियानको बैठकमा भाग लिन उनी मलेसिया जान लागेका हुन्। जहाँ उनले मलेसियासँग व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नेछन्। उनी सहभागी कार्यक्रममै कम्बोडिया र थाइल्यान्डबिच शान्ति सम्झौतामा समेत हस्ताक्षर हुने कार्यक्रम छ।
मलेसियाबाट उनी जापान जानेछन्। जहाँ उनले यही साता निर्वाचित जापानकी पहिलो महिला प्रधानमन्त्री सनाई टाकाइचीसँग भेट्नेछन्।
एसिया भ्रमणको उनको सबैभन्दा महत्त्वपूर्ण कार्यक्रम भने दक्षिण कोरियामा छ। जहाँ उनको चिनियाँ प्रधानमन्त्री सी जिनपिङसँग भेटवार्ता हुनेछ। खासगरी पछिल्लो समय चीन र अमेरिकाबिच बढेको भन्सार महसुलसम्बन्धी विवादमा उनीहरूबिच छलफल हुनेछ। अमेरिकाले नोभेम्बर १ देखि चिनियाँ सामानमा एक सय प्रतिशत भन्सार लगाउने घोषणा गरेको छ। यो भेटवार्ता सफल भएमा सो भन्सार शुल्क स्थगित हुन सक्ने भएकाले सबैले सो भेटलाई चासोका साथ हेरेका छन्। सो बैठकमा रसिया र ताइवानको विषयमा पनि छलफल गर्ने ट्रम्पको तयारी छ।
साथै, उत्तर कोरियाली राष्ट्रपति किमसँग पनि वार्ताको प्रयास भइरहेको छ। किमले भने अमेरिकाले आफ्नो देशलाई परमाणु राष्ट्रको मान्यता दिए मात्र छलफलमा बस्न तयार रहेको बताएका छन्।