- रोहित पौडेलको नेतृत्वमा नेपालले लगातार दोस्रोपटक आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनुका साथै एसिया कपमा भारत र पाकिस्तानजस्ता विश्वकै शक्तिशाली राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्यो
नेपाली राष्ट्रिय क्रिकेट टोलीको जिम्मेवारी पाएको दुई वर्षभित्र रोहित पौडेलले आफूलाई अहिलेसम्मकै सफल कप्तानका रूपमा चिनाएका छन् । पारस खड्काको कप्तानमा नेपालले सन् २०१४ टी–२० विश्वकप खेल्दा र सन् २०१८ मा एकदिवसीय मान्यता पाउँदा उनलाई सबैभन्दा सफल कप्तानीको दर्जा दिइएको थियो । पछिल्लो दुई वर्षको सफलताका तथ्यांक केलाउँदा रोहित अहिले नेपाली क्रिकेटकै सबैभन्दा सफलता कप्तान भन्दा फरक पर्दैन । गत साता ओमानमा भएको आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटको विजेताका रूपमा रोहितले नेपाललाई ब्याक टु ब्याक स्थान दिलाए । यो डेढ महिनामा रोहितको नेतृत्वमा नेपालले ऐतिहासिक रूपमा टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्धको सिरिज २–१ ले जितेको थियो । फरक परस्थितिमा कप्तानी सम्हाल्दै रोहितले अन्तर्राष्ट्रिय क्षेत्रमा सनसनी मच्चाउने टोलीका रूपमा नेपाललाई परिचित गराएका छन् ।
उनको नेतृत्वमा नेपालले ५० वटा टी–२० आई खेल पूरा गरेको छ । गत वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको टी–२० विश्वकपकै उनी सहभागीमध्ये कान्छा कप्तान पनि बनेका थिए । २० वर्षको उमेरमा उनले सन् २०२३ सेप्टेम्बरमा नेतृत्व सम्हालेका थिए । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्ट्स अवार्ड, २०८० को पुुरुषतर्फ उत्कृष्ट पुरुष खेलाडीको विधा उनले जितेका थिए । यसैगरी, चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्ध थुप्रै विश्व रेकर्ड बनेका थिए ।
रोहितकै कप्तानीमा नेपालले आइसिसी विश्वकप डिभिजन लिग २ मा १२ मध्ये ११ खेल जित्दै अविश्वसनीय रूपमा एकदिवसीय मान्यता रक्षा गरेको थियो । नेपालको यू–१९ टोलीको समेत कप्तानी जिम्मेवारी सम्हालिसकेका रोहितले एकदिवसीय खेलमा नेपालका लागि एक हजार रन पूरा गरिसकेका छन् ।
१६ वर्षमै डेब्यु
रोहितले १६ वर्षको उमेरमै नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए । तत्कालीन कप्तान पारसको नेतृत्वमा रहेको नेपाली टोलीबाट रोहितले नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेका थिए । उनी त्यसवेला एकदिवसीय विधामा डेब्यु गर्ने विश्वकै छैटोैँ कान्छो खेलाडी बनेका थिए । नवलपरासीका उनले अहिलेसम्म ७२ एकदिवसीयमा एक शतक तथा ११ अर्धशतकीय इनिङ्सको सहयोगमा एक हजार ८५१ रन जोडेका छन् । ब्याटिङमा उनको स्ट्राइक ७५.०९ रहेको छ ।
सन् २०१९ मा उनले युएईविरुद्ध टी–२० आइमा डेब्युको अवसर पाए । यस फम्र्याटमा उनले ७६ खेलमा एक हजार ६३७ रन बनाउँदा आठ अर्धसतक बनाएका छन् । सन् २०१८ मा उनले युएईसँगको खेलमा पहिलो श्रेणी खेले । सोही वर्ष उनले नामिबियाविरुद्ध लिस्ट ‘ए’मा खेले । उनले लिस्ट ‘ए’मा दुई हजार १६९ रन बनाउँदा एक शतक तथा १२ अर्धशतकीय इनिङ्स खेलेका छन् ।
टेस्ट राष्ट्रविरुद्ध ऐतिहासिक प्रदर्शन
पारसको नेतृत्वमा नेपालले पहिलोपटक टी–२० विश्वकप खेल्दा टेस्ट राष्ट्र बंगलादेशविरुद्ध पहिलोपटक प्रतिस्पर्धा गरेको थियो । त्यसवेला नेपालले बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गर्यो । रनरेटमा नेपाल अर्को चरणमा पुग्न सकेन । सन् २०१४ पछि नेपालले टेस्ट राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्न एक दशक प्रतीक्षा गर्नुपर्यो । सन् २०२४ को एसिया कपमा नेपालले स्थान बनाउँदा समूह ‘ए’मा भारत, पाकिस्तान र श्रीलंकाविरुद्ध खेल्ने अवसर पायो ।
एकदिवसीय र टी–२० विश्वकप विजेताविरुद्धको अवसर रोहितकै कप्तानीमा जुरेको हो । वर्षाका कारण श्रीलंकासँगको खेल भएन । तर, भारत र पाकिस्तानसँगको प्रतिस्पर्धामा नेपालले बहादुरी प्रदर्शन गरेको थियो । एसिया कपमा नेपाली क्रिकेटरले भारतका रोहित शर्मा, विराट कोहली, जसप्रीत बुमराह, रवीन्द्र जडेजा, मोहम्मद सिराज, हार्दिक पाण्ड्यासँगै पाकिस्तानका बाबर अजामजस्ता विश्वचर्चित खेलाडीविरुद्ध खेल्ने अवसर पाए । एसिया कप चलिरहँदा नेपाललाई दक्षिण एसियाकै नयाँ शक्ति भनी कमेन्टेटरहरूले बताएका थिए ।
१० वर्षपछि नेपालले टी–२० विश्वकप खेल्दा दक्षिण अफ्रिका र बंगलादेश एकै समूहमा थिए । टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँगको रोमाञ्चक खेलमा नेपाल १ रनले चुक्यो । पछि दक्षिण अफ्रिका नै उपविजेता बनेको थियो । बंगलादेशसँग खेलमा नेपाल थोरै रनले पराजित भयो । यी दुवै खेलमा नेपाली बलरले विश्वस्तरीय प्रदर्शन गरेका थिए । गत महिना नेपालले दुईपटकको टी–२० विश्वकप विजेताविरुद्ध युएईमा ऐतिहासिक सिरिज खेल्यो । पहिलो दुई खेल जित्दै वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिज जितेको नेपाल अन्तिममा नराम्रोसँग पराजित भयो । नेपालले आइसिसीको टेस्ट राष्ट्रविरुद्ध पहिलोपटक सिरिज खेल्दा विश्व क्रिकेटमा फरक छाप छाड्न सफल भयो । रोहितको कप्तानीमा नेपालले वेस्ट इन्डिजविरुद्ध पहिलो खेलमा १९ रन र दोस्रो खेलमा ९० रनको सानदार जित निकाल्यो । अन्तिम खेलमा वेस्ट इन्डिज १० विकेटले विजयी भयो ।
लिग २ मा १२ मध्ये ११ खेलमा जित
सन् २०२३ मा नेपाली क्रिकेट खराब अवस्थामा थियो । आइसिसी विश्वकप लिग २ मा लगातार हारपछि नेपालको एकदिवसीय मान्यता गुम्ने लगभग निश्चितजस्तै थियो । एकदिवसीय रक्षा गर्न नेपालले लगातार खेलमा जित्नुपर्ने थियो । त्यसैवेला मुख्य प्रशिक्षकका रूपमा मोन्टी देसाईले टोली सम्हाले । देसाईको आगमनसँगै नेपाली क्रिकेटको काचुली नै फेरियो । उनले आफ्नो कार्यकालमा ‘ह्याप्पी ड्रेसिङ रुम’ रणनीति अपनाए । देसाईको प्रशिक्षण र रोहितको कप्तानीमा नेपालले विश्वकप लिग २ मा अविश्वसनीय रूपमा अन्तिम १२ मध्ये ११ खेल जित्यो । नेपालले पहिलोपटक एकदिवसीय विश्वकपमा ग्लोबल छनोटमा मात्र स्थान बनाएन, एकदिवसीयसमेत रक्षा गर्यो । लिग २ मा नेपालले ३६ खेलमा १९ जितसहित ४० अंक जोड्दै तेस्रो स्थान रक्षा गर्यो ।
विश्वकप र एसिया कपका कान्छा कप्तान
गत वर्षको टी–२० विश्वकपमा नेपालको नेतृत्व गर्दा रोहित २१ वर्षका थिए । प्रतियोगितामा सहभागी २० राष्ट्रमध्ये कान्छो कप्तान उनी नै थिए । उनले अफगानिस्तानका कप्तान रसिद खान र बंगलादेशका नाजमुल हुसैनलाई पछि पारे । रसिद र नाजमुलको उमेर २५ वर्ष थिए । नेपालले एसिया कप खेल्दा पनि कान्छा कप्तान थिए । उनी १५ वर्षको उमेरमै एकदिवसीय खेल्ने कान्छा खेलाडी पनि हुन् । २० वर्षकै एकदिवसीय टिमको कप्तानी गर्ने कीर्तिमान पनि रोहितसँग
नै छ ।