कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर फेरि विवाद बढेको छ । केन्द्रीय कार्यसमिति बैठक छठसम्मका लागि स्थगित भएपछि विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिले कार्यसमितिको म्याद थप्ने षड्यन्त्र भएको आरोप लगाएका छन् । गत २८ असोजमा सुरु भएको बैठक १३ कात्तिकसम्मका लागि स्थगित भएको छ । शनिबार केहीबेर मात्रै बसेर बैठक स्थगित भएको थियो । पूर्वकेन्द्रीय सदस्य ८४ वर्षीय ऋषिकेश गौतमको निधनप्रति दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेर शनिबारको बैठक स्थगित भएको थियो ।
बहुमत प्रतिनिधिले हस्ताक्षर गरेर बुझाएपछि तीन महिनाभित्र महाधिवेशन हुनुपर्नेमा म्याद थप्ने प्रपञ्चमा कार्यसमिति बैठक लामो समयसम्म स्थगित गरिएको दाबी प्रतिनिधिहरूको छ । १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको चारवर्षे म्याद आगामी मंसिरमा सकिँदै छ । विधानमा एक वर्ष म्याद थप्न पाउने व्यवस्था छ ।
संस्थापन पक्ष सोही व्यवस्थामा टेकेर म्याद थप्ने पक्षमा छ । तर, इतर पक्ष भने मंसिरमै महाधिवेशन हुनुपर्ने अडानमा छ । गत बिहीबारको कार्यसम्पादन समिति बैठकमा महामन्त्री गगन थापाले २७–२९ मंसिरमा १५औँ महाधिवेशन गर्न प्रस्ताव गरेका थिए । नियमित महाधिवेशन गर्दा वडा, क्षेत्रीय प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्र र महाधिवेशन प्रतिनिधिको चयन गरी सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव थापाको थियो । उनले सबै तहगत अधिवेशन सकेर केन्द्रीय महाधिवेशन गर्ने वैकल्पिक प्रस्ताव पनि गरेका थिए । तर, संस्थापन पक्ष उक्त प्रस्तावमा सहमत नभएपछि केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव प्रस्तुत हुन सकेन । संस्थापन पक्ष विधि, प्रक्रिया सबै पूरा गरेर महाधिवेशन गर्नुपर्ने अडानमा छ । स्रोतका अनुसार संस्थापन पक्षले आगामी वैशाखमा महाधिवेशन गर्न चाहेको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर हस्ताक्षर अभियानको अगुवाइ गरेका युवा नेता गुरुराज घिमिरेले पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरेपछि तीन महिनाभित्र महाधिवेशन हुनुपर्ने बताए । उनले महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय कार्यसमितिको बैठकलाई सूक्ष्म रूपमा नियालिरहेको पनि बताए । उनले कांग्रेसले प्रजातान्त्रिक आन्दोलनको नमुना मान्ने गरे पनि कम्युनिस्टहरूले मंसिरमा महाधिवेशनको निर्णय गर्दासमेत कांग्रेसले निर्णय गर्न नसकेको उनले बताए ।
महाधिवेशन आयोजनामा विलम्ब गर्ने, अलमलिने र पार्टीको नेतृत्व र नीति चयन गर्न ढिलाइ गर्ने सुविधा नभएको उनीहरूको दाबी छ । ‘गत २८ असोजबाट प्रारम्भ भएको केन्द्रीय समितिको बैठक अस्वाभाविक रूपमा लम्ब्याउने र टुंगिनेसमेत अनिश्चित देखिनुले कार्यसमितिको मनसाय मंसिरभित्र नियमित महाधिवेशन नगर्ने र आफ्नो म्याद थप्नेतर्फ उद्यत देखिन्छ । वर्तमान केन्द्रीय समितिको यस्तो चाल र प्रवृत्ति आपत्तिजनक छ,’ विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान चलाउने पक्षको विज्ञप्तिमा छ ।
महाधिवेशन प्रतिनिधिहरूको अधिकारलाई अवमूल्यन गर्ने र छल्ने छुट कसैलाई पनि नभएको उनीहरूको भनाइ छ ।
कांग्रेस युवा नेता गुरुराज घिमिरे भन्छन्–पार्टी केन्द्रीय कार्यसमितिले अस्वाभाविक रूपमा बैठक लम्ब्याएको छ । यसरी किन बैठक सारिरहेका छाैं, आज जनमानसले प्रश्न गरिरहेको छ । हामीले आफूलाई विश्वको प्रजातान्त्रिक आन्दोलनको नमुना मान्छौँ, अरू राजनीतिक दल र कम्युनिस्ट पार्टीहरूले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरिसके । हामीलाई केले रोक्यो ?
राजसंस्थाको पक्षमा उभिए गोपालमान
कांग्रेसका पूर्वकार्यवाहक सभापति गोपालमान श्रेष्ठले कांग्रेसको अगुवाइमा राजसंस्थासहित सर्वपक्षीय भेलाबाट विद्यमान समस्याको समाधान खोज्नुपर्ने प्रस्ताव अघि सारेका छन् । आइतबार ललितपुरमा पत्रकार सम्मेलन गरेर उनले राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दल, जेन–जी आन्दोलनका फरक मत राख्ने सबै शक्तिहरूलाई समेटेर सर्वपक्षीय संवादको आवश्यकता औँल्याएका हुन् । ‘निषेधको राजनीति त्यागेर सहकार्य, सहअस्तित्व र संवादबाट अघि बढ्नुपर्छ । राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दलहरू, जेन–जी आन्दोलन र फरक मत राख्ने सबै शक्तिहरूलाई समेटेर सर्वपक्षीय संवाद आवश्यक छ,’ उनले भने ।